‘भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो’

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १, शनिबार १८:०६

काठमाडौं । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको नेकपा माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुनासो गरेका छन् ।

शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काम गर्दागर्दै सरकारबाट हटाइएको बताएका हुन् ।

“पार्टी सरकारमा हुँदा सुशासन , सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ,’ उनले भने,‘भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो ।”

“संसद्‌मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्‍यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ,’ उनले फेरि भने,‘पछि त काले–काले मिलेर खाउँ भाले भयो । जनताले पनि त्यहि ढंगले बुझेका छन् ।”

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जाने बताए । उनले भने,‘पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो। कतिपय कमरेडहरु त झण्डै दुई घण्टा नै बोल्नुभयो।”

स्थायी समितिको बैठकमा छलफलको क्रममा नेता जनार्दन शर्माले अरूले मुखले मत राखे जस्तै आफुले लिखित रूपमा राखेको तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको बताए ।

स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राखेको दस्ताबेज फरक मत नभएको उल्लेख गर्दै उनले भने,‘ प्रभाकरजीले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । बिहान मात्रै पनि उहाँ मेरोमा आउनुभएको थियो । उहाँले त्यो भन्नुभएको छ । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.