विराटनगरको बाल सुधारगृहबाट कर्तव्य ज्यान, डाँका र करणी मुद्दाका दुई जना फरार

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर सम्वाददाता
clock२०८१ भदौ ४, मंगलबार १८:०८

विराटनगर । कानुनी विवादमा परेर अदालतको फैसला र आदेश अनुसार विराटनगरको बाल सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो फरार भएका छन् ।

फरार हुनेमध्ये एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी (बलात्कार) मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक छन् । १६ वर्ष उमेरका दुवै जनालाई विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राखिएको थियो । उक्त सुधार गृहमा कानुनको विवादमा परेर अदालतबाट दोषी ठहर भएका तथा अनुसन्धान गर्नुपर्ने बालकहरुलाई राख्ने गरिएको छ ।

सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार भागेका दुवै जना बालक सुनसरीका हुन् । सुनसरीको कोशी गाउँपालिका–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको चौहानले बताए ।

ती बालकलाई अदालतले २०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो । अदालतले पछि मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।

त्यस्तै, बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

सुधारगृहका प्रमुख चौहानका अनुसार दुवै जना दिउँसो ३ बजेतिर भागेका हुन् । सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना फरार भएको उनले बताए ।

सुधारगृहमा दीपज्योति माध्यमिक विद्यालय छ । सुधारगृहभित्र राखिएकाहरु त्यही विद्यालयमा पढ्छन् । त्यहाँ प्रत्येक मंगलबार मनोरञ्जनसहितको अतिरिक्त क्रियाकलाप हुने चौहान बताउँछन् ।

‘सुधारगृहभित्र प्रत्येक मंगलबार ‘बुक फ्री डे’ हो । त्यो दिन अतिरिक्त क्रियाकलाप हुन्छ । सुधारगृहभित्र रहेकाले कार्यक्रममा आआफ्ना प्रतिभाहरु देखाउँछन्,’ उनले भने, ‘तर, मनोरञ्जनात्मक कार्यक्रम चलिरहेका बेला सुधारगृहको पर्खाल नाघेर दुई जना भागेको पाइयो । प्रहरीसँग समन्वय गरेर खोजी जारी राखिएको छ । अहिलेसम्म फेला पार्न सकिएको छैन ।’

सुधारगृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (असइ)को नेतृत्वमा १३ जना प्रहरी परिचालन गरिएको छ ।अहिले असइ टेकमणि खड्काको नेतृत्वमा प्रहरी परिचालित छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सबैतिर समन्वय गरेर सुधारगृहबाट फरार भएकाको खोजी तीव्र पारिएको जानकारी दिए ।

सुधारगृहमा क्षमताभन्दा बढीलाई राखिएको छ । ५० जनाको क्षमता रहेकोमा २ सय ३८ जना रहेका थिए । २ जना भागेपछि २ सय ३६ जना रहेको चौहानले बताए । उनका अनुसार सुधारगृहभित्र हाल १८ वर्षमाथिका १ सय २४ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.