नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा ।विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले प्रतिपक्षी दलको हैसियतामा सुविधा लिइरहेको पाइएको छ । यसअघि कांग्रेस प्रतिपक्षमा थियो । अहिले सत्तापक्षमा छ ।
केन्द्रमा गत असार १७ गते सत्ता गठबन्धन फेलबदल भएसँगै सत्तापक्षको बेन्चमा पुगेको कांग्रेसले प्रतिपक्षी दलले पाउँदै आएको सुविधा आफैँले लिइरहेको हो । कांग्रेसले गत साउन १२ गते ४ वटा मन्त्रालय लिएर नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय लिएको थियो ।
सरकारमा सहभागी हुने निर्णय गरेको लामो समयसम्म कांग्रेसले मन्त्रीको टुंगो लगाउन सकेको छैन । आन्तरिक भागबन्डा मिलाउन नसक्दा कांग्रेसमा किचलो बढेको छ । कांग्रेसकै कारण कोशीमा सरकार विस्तार हुन सकिरहेको छैन ।
प्रतिपक्षीको सुविधा लिइरहेको कांग्रेसले मुख्यमन्त्री कार्कीसँग सरकारमा सहभागी हुनका लागि मन्त्रालय विभाजनको छलफल गरिरहेको छ । प्रदेशमा प्रतिपक्षी दलको नेताले राज्यमन्त्रीको सरह सुविधा पाउँछन् । पीएसओ भने पाउँदैनन् ।
प्रमुख प्रतिपक्षी दलको नेताले मासिक पारिश्रमिक ५९ हजार रूपैयाँ पाउँछन् । त्यसबाहेक सरकारी गाडी, सवारी चालक र हरेक महिना १ सय २५ लिटर इन्धन पाउँछन् । आवास सुविधाबापत २१ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारका लागि हरेक महिना ५ हजार सुविधा प्राप्त गर्छन् ।
यो सुविधा अहिले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले उपभोग गरिरहेका छन् । यो सुविधा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पाउनुपर्ने हो ।
प्रमुख प्रतिपक्षी दलको नेताबाहेक प्रमुख सचेतक र सचेतकले पनि सुविधा प्राप्त गर्छन् । प्रमुख सचेतकले पारिश्रमिक बापत मासिक ५७ हजार ८ सय २०, सञ्चार सुविधा ३ हजार र सवारी साधन पनि पाउँछन् । सवारी नभएमा मासिक १५ हजार पाउँछन् । प्रमुख प्रतिपक्षी दलको सचेतकले पनि पारिश्रमिक ५५ हजार ४ सय ६० र यातायात खर्च मासिक ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्छन् ।
कोशीमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा कांग्रेस दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपाल तामाङ र सचेतक शोभा चेम्जोङले सुविधा लिइरहेका छन् । सरकारमा सहभागी भएको दुई महिनासम्म प्रतिपक्षी दलको सुविधा कांग्रेसले नछोड्नु आश्चार्य जनक रहेको माओवादी संसदीय दलका नेता आङ्बोले बताए । ‘कांग्रेसले सत्तापक्ष हुने, अनि प्रतिपक्षीको सुविधा लिने काम गरिरहेको छ,’ उनले भने, ‘कांग्रेसले सत्तापक्ष भएको २ महिनासम्म प्रतिपक्षीको सुविधा पाइरहेको छ ।’
कांग्रेस संसदीय दलले भने सरकारमा सहभागी भएपछि मात्रै सुविधा त्याग्ने बताएको छ । पार्टीका प्रमुख सचेतक गोपाल तामाङले १४ भदौको सदनपछि प्रतिपक्षी दलको सुविधा त्याग्ने बताए । ‘अहिलेसम्म सदन नबसेका कारण माओवादी प्रतिपक्षी दल हो भन्ने देखिएको छैन,’ उनले भने, ‘सदन सुरु भएपछि सत्तापक्षमा बसेर प्रतिपक्षीको सुविधा छाड्छौँ ।’

























