
काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० बर्से सेवा अवधि हटाउनुपर्नेलगायतका माग गर्दै प्रहरी अधिकृतहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सेवाबाट अवकाश पाउन लागेका २१ जना प्रहरी अधिकारी सर्वोच्च पुगेका हुन् । ९० जना सिनियर प्रहरी अधिकृत भदौ अन्तिममा अवकाशमा जाँदैछन् । अवकाशमा जान लागेकामा डीआईजी (प्रहरी नायव महानिरीक्षक)देखि इन्सपेक्टर (प्रहरी निरीक्षक)सम्म छन् ।
उनीहरुले २०५१ सालमा असइ (सहायक निरीक्षक)बाट सेवा सुरु गरेका थिए । एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) दिनेश मैनाली, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, बेलबहादुर पाण्डले र रवीन्द्र रेग्मीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । ५ जना एसएसपीसहित ६ जना एसपी (प्रहरी उपरीक्षक), ६ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) र ४ जना इन्सपेक्टरले संयुक्त रूपमा रिट दायर गरेका छन् ।
उनीहरुलाई सेवाबाट अनिवार्य अवकाश हुने भनेर पत्र थमाइएको छ । रिटको टुंगो नलागेसम्म पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् । साथै, ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश दिने व्यवस्था लागू नगर्न माग गरेर रिट दायर गरिएको छ ।
सरकारले नेपाल प्रहरीमा सेवा अवधि र निवृत्तिभरणको अवधिबारे पुनरावलोकन गर्न यसअघि समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाइसकेको छ ।
नेपाल प्रहरीमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ । अबको केही दिनमा ठूलो संख्याका प्रहरी अधिकृतले ३० बर्से सेवा अधविका कारण अवकाश पाउँदै छन् ।























