
काठमाडौं । प्रहरीमा कायम रहेको ३० बर्से सेवा अवधि हटाउन माग गर्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदै छ ।
प्रारम्भिक सुनुवाइका लागि बिहीबार (आज)लाई पेसी तोकिएको हो । रिटमाथिको सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ । प्रहरीमा कायम रहेको ३० बर्से सेवा अवधि हटाउनुपर्ने माग राख्दै २१ जना प्रहरी अधिकृतले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाइएको छ । ३० बर्से सेवा अवधि समाप्त भएसँगै नेपाल प्रहरीमा कार्यरत ९० जना प्रहरी अधिकारी यही भदौमा अनिवार्य अवकाशमा जाँदै छन् ।
उमेर हद बाँकी रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण उनीहरुले अवकाशमा जानुपर्ने अवस्था आएको हो । नेपाल प्रहरीमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ ।























