मोरङमा अवैध चप्पल भण्डारणस्थलमा प्रहरीको छापा, १६ लाख बराबरको बरामद

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १८:४६

विराटनगर । मोरङको रंगेलीमा अवैध चप्पल भण्डारण गरेर राखिएका घरमा प्रहरीले बिहीबार दिउँसो छापा हानेको छ । रंगेलीका अलगअलग स्थानका भण्डारणस्थलमा प्रहरीले छापा हानेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले रंगेली नगरपालिका–३ आमतोला र रंगेली–८ दर्वेसामा छापा हानेर १६ लाख मूल्य बराबरको चप्पल बरामद गरेको छ । आमतोलास्थित नजिया खातुनको घरको कोठाबाट ११ लाख मूल्य बराबरको १६ बोरा र दर्वेसास्थित यज्ञ अग्रवालको घरको कोठाबाट ५ लाख बराबरको ६ बोरा चप्पल बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार एउटा बोरामा ३ सयदेखि ६ सय जोडीसम्म चप्पल भेटिएका छन् । जम्मा ८ हजार जोडी चप्पल बरामद भएको जानकारी बस्नेतले दिए । अवैध धन्दा चलाइरहेका व्यक्तिले खातुन र अग्रवालको घरको कोठा भाडामा लिएर विभिन्न ब्राण्डका चप्पलको तस्करी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट तस्करीमा घरधनीको संलग्नता भने देखिएन । चप्पल तस्करीमा संलग्नको पहिचान नखुलेको डीएसपी बस्नेतको भनाइ छ । प्रहरीका अनुसार नाम, थर र वतन नखुलेका बंगाली भनेर चिनिने व्यक्तिले भन्सार छली गरेर विभिन्न ब्राण्डका चप्पल तस्करी गरी घरको कोठा भाडामा लिएर भण्डारण गरी राखेको सूचना आएको थियो ।

ती व्यक्तिले ५ महिना अघिदेखि घर भाडामा लिएर भारतबाट चप्पल तस्करी गरेर नेपाल भित्राउने गरेको प्रहरीको भनाइ छ । प्रहरी आएको थाहा पाएर तस्करीको धन्दा चलाइरहेका व्यक्ति भने फरार बनेका थिए । उनको खोजी भइरहेको डीएसपी बस्नेतले बताए । बरामद भएका चप्पल आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.