रविसँग बयान लिँदै सहकारी छानबिन विशेष समिति

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार ०७:०७

काठमाडौं । सहकारीको रकम दुरुपयोग गरिएको विवादमा मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज (शुक्रबार) संसदीय छानबिन विशेष समितिले बयान लिँदै छ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको सूर्य थापा नेतृत्वको समितिले रविसँग दिउँसो २ बजे बयान लिने भएको हो । समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । समिति सभापति थापाले रविलाई गोरखा मिडिया नेटवर्क प्रा.लिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछ गर्न बोलाइएको जाानकारी दिए ।

समितिले रविसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि बोलाएको छ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न जीबी राईसँग मिलेर सहरकारीको रकम अपचलन गरेको आरोप रविमाथि लाग्दै आएको छ ।

गोर्खा मिडियाको खातामा पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, चितवनको सहारा सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख ‘ट्रान्सफर’ गरेको आरोप छ । गोर्खा मिडियामार्फत सञ्चालन गरिएको ग्यालेक्सी टिभीमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए ।

सहकारी ठगीमा रविको संलग्नता रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा निरन्तर आवाज उठाएको थियो । संसदसमेत अवरोध गरेको थियो । त्यसपछि यो विषय छानबिन गर्न सांसद सूर्य थापाको संयोजकत्वमा गत जेठ १५ गते समिति बनाइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.