ट्राफिक लाइट बिग्रेको १२ दिनपछि मर्मत

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार १८:१४

विराटनगर । विराटनगरको बरगाछी चोकमा सञ्चालनमा आएको एक हप्तामै बिग्रिएको ट्राफिक लाइट मर्मतपछि पुनः सुचारु भएको छ । लाइट बिग्रेको १२ दिनपछि मर्मत गरेर सञ्चालनमा आएको हो ।

ट्राफिक लाइट सञ्चालनमा आएको एक हप्तामै लाइट बिग्रेको भनेर मुलुकीखबर डटकमले समाचार प्रकाशन गरेपछि सम्बन्धित निकायले मर्मत सम्भार गरी सुचारु गर्याे ।

सवारी दुर्घटना न्यूनीकरण गर्न बरगाछीमा साउन २१ गतेदेखि ट्राफिक लाइट सञ्चालनमा आएको थियो । लाइट सञ्चालनमा आएको हप्ता दिन नबित्दै बरगाछी चोकको पश्चिमतर्फको ट्राफिक लाइट साउन २७ गते बिग्रिएपछि समस्या भएको हो ।

२३ लाख रुपैयाँ लागतमा जडान गरिएको उक्त लाइट बिग्रिएपछि ट्राफिक प्रहरीलाई काम गर्न समस्या भएको थियो भने यात्रुहरु अलमलमा परेका थिए ।

तीनतिरको लाइटले काम गरे पनि पश्चिमतर्फकोले काम नगर्दा सवारी चालकहरु अन्यौलमा पर्ने र समस्या हुने गरेको थियो । ट्राफिक लाइट जडान गर्ने ‘स्वीचन र यार्सा टेक्नोलोजी’को काम गुणस्तरीयता नभएकाले साता दिनमै लाइट बिग्रिएको हो ।

लाइट बिग्रिएपछि तत्कालै मर्मतसम्भार गर्नुपर्नेमा धेरै दिनसम्म प्राविधिक कुर्नुपर्दा समस्या भएको ट्राफिक प्रहरीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.