
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका –१ कुडुले नजिकबाट शनिबार साँझ सुनकोशी नदीमा खसेको गाडी क्षतिग्रस्त अवस्थामा भेटिएको छ ।
तर, गाडीसहित सुनकोशी नदीमा खसेकाहरु अहिलेसम्म भेटिएका छैनन् । खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३–०१– ०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी नदीमा खसेको थियो ।
गाडीमा ४ जना सवार थिए । १ जना गाडीबाट हामफालेर बाँचेका छन् । अरु ३ जना बेपत्ता भएका छन् । सशस्त्रको गोताखोर टोलीले शनिबार बिहानका राति गाडी फेला पारे पनि बेपत्ता भएकाहरु अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा गाडी चालक भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित जगातीका ३२ वर्षीय अविन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार गाडीमै सवार जगातीका २७ वर्षीय सुशान्त कक्षपति घाइते अवस्थामा भेटिएका थिए । उनले गाडीबाट हामफालेर ज्यान बचाएका हुन् ।
एसपी काफ्लेले बेपत्ता भएकाहरुको खोजी जारी रहेको बताए । सशस्त्र प्रहरीको गोताखोर टोलीसहित नेपाल प्रहरी र स्थानीयले उनीहरुको खोजी जारी राखेका हुन् ।
‘गाडी फेला पारेर बाहिर निकालिएको छ,’ एसपी काफ्लेले भने, ‘बेपत्ता भएकाहरु भेटिएका छैनन् ।’ उनका अनुसार आफैँ अनियन्त्रित भएको गाडी सडकबाट लगभग ६० मिटर तल खसेर नदीमा पुगेको थियो ।























