
विराटनगर । इलाका प्रहरी कार्यालय रानीका प्रमुख, इन्सपेक्टर प्रकाश थापा कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेका हुन् । थापालाई ‘बेस्ट पुलिस अफ दी’ मन्थको उपाधि प्रदान गरिएको छ । विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका कारण उनलाई सर्वोत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कोशी अस्पतालबाट साउन १७ गते भागेका बलात्कार (जबरजस्ती करणी) मुद्दाका कैदी पक्राउ पर्नुमा इन्सपेक्टर थापाको महत्वपूर्ण भूमिका छ । जिल्ला कारागार मोरङका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद शौचालय जाने बहाना बनाएर उपचाररत अवस्थामै अस्पतालबाट फरार बनेका थिए ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्दै सूचना संकलन र खोजतलास गरी उनलाई साउन २४ गते पक्राउ गरेको थियो । इन्सपेक्टर थापाको टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
साथै, थापा नेतृत्वको टोलीले साउन महिनामा लागुऔषधको ओसारपसार एवं कारोबारमा संलग्न २८ जनालाई पक्राउ गरेको छ । अवैध रूपमा भन्सार छली गरेर नेपाल ल्याइएका १४ लाख ९ हजार मूल्य बराबरको तस्करीका सामान १ महिनाको अवधिमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘दुर्व्यसनीविरुद्ध आमाहरु’ कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका–१६ स्थित क्यान सामुदायिक भवनमा ६ सय ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिएर थापाले उत्कृष्ट कार्य गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साउन महिनाभरिको उत्कृष्ट कार्यसम्पादनका आधारमा थापालाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।
प्रदेशभित्र कार्यरत प्रहरीको मनोबल उच्च राख्न प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्नेमध्येबाट छनोट गरेर प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ । जसका कारण प्रहरीलाई काम गर्न हौसला मिल्ने गरेको छ ।
























