
काठमाडौं । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेता विरुद्ध प्रदर्शन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले असन्तुष्टि जनाएका छन् ।
सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो ।
नेता विरुद्ध प्रदर्शन भएपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका हुन् । उनले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको गुनासो गरे ।
‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ,’ उनले भने,‘यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन ।’
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिष्टता देखाउन आग्रह गरे ।

























