
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–६ मा नियमविपरीत छाला उद्योग सञ्चालन भइरहेको पाइएको छ । छाला उद्योगका कारण जताततै दुर्गन्ध फैलिएको छ ।
न्यूनतम मापदण्ड पनि पूरा नगरिकन सञ्चालन गरिएको उद्योगका कारण स्थानीय हैरान छन् । दुर्गन्धका कारण वरपर बसिनसक्नु छ । विभिन्न रोगको महामारी फैलने जोखिम पनि उत्तिकै छ ।
कानुन उल्लंघन गरेर चलिरहेको युनाइडेट टैनरिज छाला उद्योगलाई सरकारले नियमन गर्न सकेको छैन । उद्योग सञ्चालकले पनि सरकारको निर्देशनलाई अटेर गरिरहेका छन् । स्थानीयले गरिरहेको विरोध र आग्रहलाई बेवास्ता गरिएको छ ।
उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण नै नगरेको पाइएको छ । २०४६ सालमा स्थापित उद्योगले छालाको सामग्री उत्पादन गर्छ । उद्योगबाट दुर्गन्ध फैलिएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेपछि कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा अनुगमन गरिएको थियो ।


अनुगमनका क्रममा उद्योगबाट निस्किएको केमिलसहितको फोहोर पानी प्रशोधनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ नराखेको र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नै नगरेको फेला परेको हो । मन्त्रालयका उपसचिव ध्रवकुमार भण्डारी नेतृत्वको टोलीले भदौ २ गते अनुगमन गरेको थियो ।
दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल (खतिवडा), वडाध्यक्ष घनश्याम हलुवाई, वन अधिकृत दीपक पोखरेल, वातावरण निरीक्षक हरिशंकर झा, दुहवी नगरपालिकाकी अधिकृत पार्वती तिम्सिना, संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानलगायत अनुगमनमा खटिएका थिए । साथै, उद्योगका सञ्चालक सादव अख्तर र मनोज शर्मा कुइँकेल आफैँ थिए ।
उपसचिव भण्डारीले उद्योग धेरै पुरानो रहेको बताए । ‘उद्योग खुलेको समयमा त्यहाँ बस्ती थिएन । जनसंख्या पनि कम थियो । अहिले वरपर बस्ती विस्तार भएको छ । घरहरु निक्कै भइसकेका छन्,’ उनले भने, ‘अनुगमन गर्दा उद्योगका कारण निक्कै मान्छेहरु प्रभावित भइरहेको पाइयो । स्थानीयले उद्योग सार्नुपर्ने माग गरिरहेका छन् । उद्योग पनि नियमविपरीतको रहेछ । आईई नै गरेको रहेनछ ।’
अनुगमन टोलीले उद्योग–स्थानीय द्वन्द्वलाई नजिकबाट नियाल्ने अवसरसमेत पायो । यद्यपि, त्यहाँको बस्तीभन्दा उद्योग निक्कै पुरानो हो । तर, अहिलेसम्म कसरी नियमविपरीत चलिरहेको छ र मापदण्ड नै पूरा नगरेको उद्योगले कसरी सञ्चालनको अनुमति पायोभन्ने प्रश्न उब्जिएको छ ।
अनुगमनमा पुगेको टोलीले आईई नगरेको र फोहोर पानी प्रशोधनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ नराखेको भनेर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थियो । वातावरण संरक्षण ऐन २०७७ को दफा १३ (१) बमोजिम तत्काललाई उद्योग सञ्चालनमा रोक लगाइएको भण्डारी बताउँछन् । उनका अनुसार आईईपछि मात्रै उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ।
तर, सरकारी टोलीको निर्देशन उद्योगका सञ्चालकले मानिरहेका छैनन् । उद्योग निरन्तर चलिरहेको छ । निर्देशन नमानेको भनेर स्थानीयले उद्योगलाई कारबाहीको मागसमेत गरेका छन् ।
पुरानो उद्योगले न्यूनतम मापदण्ड पूरा नगर्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले छाला फ्याक्ट्री पीडित संघर्ष समिति गठन गरेर १ महिनादेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले बस्तीबाट उद्योगलाई सार्न माग गरेका छन् ।
छाला उद्योग र स्थानीयबीचको विवाद नयाँ भने होइन, २ वर्षअघि पनि दुर्गन्ध फैलिएपछि आन्दोलन भएको थियो । त्यसबेला ‘ट्रिटमेन्ट प्लान्ट’ राख्ने सहमति भएपनि उद्योगले अझै राखेको छैन ।
छाला प्रशोधन उद्योगका कारण गाउँभरि दुर्गन्ध फैलिएको संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानले बताए । ‘उद्योगको दुर्गन्धका कारण गाउँमा पाहुना आउन छाडे । बिहाबारी हुन पनि समस्या छ,’ स्थानीय पासवानले भने, ‘उद्योगले गर्दा समस्या धेरै छ । महामारी फैलने जोखिम बढेको छ ।’
उनका अनुसार उद्योगले सामान्य सावधानी नअपनाउँदा दुर्गन्ध आसपासका बस्तीले मात्रै होइन, कोशी लोकमार्गमा यात्रा गर्ने यात्रुले बूढीखोला पुल आसपास यात्रामा क्रममा झेल्नु परिरहेको छ । उद्योगले प्रशोधन नगरी उद्योगबाट निस्किएको केमिकलयुक्त फोहोर पानी सिधै बूढीखोलामा मिसाएको उनले बताए ।
खोलामा मिसाएका कारण खोलाको पानी खाने गाईवस्तुमा समेत समस्या देखिएको पासवान बताउँछन् । न्यूनतम मापदण्ड पूरा नगरेका कारण उद्योगलाई स्थानान्तरण गर्न स्थानीयले माग गरिरहेको उनले बताए ।


स्थानीयले सार्नका लागि माग गरेको युनाइडेट टैनरिज ३५ वर्ष पुरानो उद्योग हो । उद्योग सञ्चालक सादव अख्तर भने आफ्नाविरुद्ध योजनावद्ध रुपमा आन्दोलन भइरहेको बताउँछन् । ‘एकैठाउँमा २ वटा छाला उद्योग छन् । २ वटैबाट दुर्गन्ध आउँछ,’ उनले भने, ‘तर, हामीलाई मात्रै ‘तार्गेट’ गरेर आन्दोलन भइरहेको छ । हाम्राविरुद्ध मात्रै आन्दोलन हुनुले राजनीतिक चलखेल भइरहेको प्रष्ट हुन्छ ।’
युनाइडेटसँगै एसियन लेदर पनि छ । सो उद्योगबाट पनि दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ । युनाइडेटविरुद्धको आन्दोलनपछि स्थानीयले एसियनविरुद्ध पनि आन्दोलन गर्ने तयारी गरेका छन् । संघर्ष समितिका अध्यक्ष पासवान भन्छन्, ‘छाला उद्योगले नियम मानेका छैनन् । त्यसविरुद्ध हामी आन्दोलनमा छौं । युनाइडेटविरुद्धको आन्दोलनको निष्कर्ष निस्किएपछि एसियनविरुद्ध पनि हामी आन्दोलन गर्छाै ।’
उद्योग सञ्चालक अख्तरले उनले प्रारम्भिक वातावरणीय प्ररीक्षण (आईई) नगरिएको स्वीकार गरे । फोहोर पानी प्रशोधनका लागि पनि ‘प्लान्ट’ राख्ने तयारीमा रहेको उनले बताए ।
‘आईई गराउने क्रममा छौं । चाँडै भइहाल्छ,’ उनले भने, ‘हामीसँग ‘ट्रिटमेन्ट प्लान्ट’ छ । सुरुको ‘प्लान्ट’ खोलाको बाढीले बिग्रियो ।’ ‘प्लान्ट’ मर्मत गर्न सामान नपाइएको उनले बताए । सामान पाउनेवित्तिकै मर्मत गरेर ‘ट्रिटमेन्ट प्लान्ट’ सञ्चालनमा ल्याइने अख्तरको भनाइ छ ।
२०४६ सालमा स्थापना भएको उद्योगले छालाको तयारी र कच्चा सामग्री उत्पादन गर्छ । उद्योगमा ३५ जना कामदार छन् ।























