तेह्रथुम र सुनसरीमा दुर्घटना, वृद्धासहित २ जनाको मृत्यु

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १३, बिहीबार ०८:१९

विराटनगर । कोशी प्रदेशका तेह्रथुम र सुनसरी जिल्लामा दुर्घटना हुँदा वृद्धा महिलासहित २ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस र सुनसरीको बराहक्षेत्रमा बुधबार दुर्घटना भएको हो ।

उत्तर–दक्षिण मध्य पहाडी लोकमार्गअन्तर्गत लालीगुराँस नगरपालिका–१ का राटोपाटी लम्बु खोलामा ग्यास बोकेको ट्रकले किचेर बुधबार राति सहचालकको मृत्यु भएको छ । प्रिमा ग्यास लोड गरिएको को १ क १६८१ नम्बरको ट्रकले किचेर राति ९ः४५ बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका घर भएका अन्दाजी ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ओट लगाउने क्रममा अचानक ‘ब्रेक फेल’ भएको ट्रकको पछाडिको चक्काले उनलाई किचेको थियो । चौधरीको घटनास्थलमै मृत्यु भएको हो । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा राखिएको छ ।

ट्रक र चालक सुनसरीको रामधुरी नगरपालिका–४ का ४४ वर्षीय तेजबहादुर राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अचानक ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, मदन भण्डारी लोकमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धाको मृत्यु भएको छ । उदपुरबाट सुनसरीको कालाबञ्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१०४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई दिउँसो १२ः३० बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट साइकल यात्री ४५ वर्षीय गुन्जा चौधरी र साइकलको पछाडि सवार उनकी आमा उदयपुरको बेलका नगरपालिका–१ बस्ने ८० वर्षीया लक्ष्मीदेवी चौधरी घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाकी लक्ष्मीदेवीको उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये आमाको मृत्यु भएको र छोराको उपचार जारी छ । ट्रक र चालक मोरङको कानेपोखरी गाउँपालिका–५ का ३० वर्षीय वीरबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.