
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गरेका छन् ।
प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम जारी छ । उनले बिहीबार आयोजनाको अनुगमन गरेका हुन् ।
यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा बन्दैछ ।
२२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १ सय ७५ वटा बस पार्क गर्ने गरी पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरुका लागि विश्रामस्थल, स्वीमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टूरेन्टलगायतका संरचना रहने छन् ।
निर्माणाधीन रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाडै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
स्थानीयको सहयोगले परियोजनाको काम सहज रुपमा भइरहेको बताउँदै उनले चैत महिनाभित्रै पहिलो चरणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
दोश्रो चरणको काम पनि चाडै सुरु हुने उनले बताए । पहिलो चरणका काम सम्पन्न गर्न ५७ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएको भएपनि काम सम्पन्न गर्न भने ३० करोड ४३ लाखमा सम्झौता भएको थियो ।
परियोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका विषयमा र स्थानीयका समस्याहरुका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।
अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना,प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

























