सुध्रिएनन् रोनाल कँडेल, एकपछि अर्को अपराध

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ भाद्र १६, आइतबार १८:५२

विराटनगर । विराटनगर महानगरपालिका–११ का ३२ वर्षीय रोनाल कँडेल अहिले प्रहरीको फरार सूचीमा छन् ।

पूर्वमन्त्री एवं नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरासहित २ जनामाथि आक्रमण गरेको घटनामा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा ज्यान मार्ने उद्योगको जाहेरी परेको छ । सुनसरीको दुहबी नगरपालिका–२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका–१० मा भदौ १ गते आक्रमण भएको थियो । द्रव्यराज भगवतीका छोरा हुन् ।

घटनामा संलग्न भनिएका रोनालसहित विराटनगर–११ का ४७ वर्षीय कान्ता कामत, उनका छोरा २८ वर्षीय पंकज कामत र ४१ वर्षीय प्रशान्त पौडेल फरार छन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दाको जाहेरी परेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन तरुण दल मोरङको क्षेत्र नम्बर ६ का उपसभापति रहेका रोनाल अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । राजनीतिक संरक्षण पाएर उनी अपराधमा संलग्न हुन थालेको लामै समय भइसकेको छ । जस्तोसुकै अपराध गरेपनि राजनीतिक दबाबमा उनले उन्मुक्ति पाउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार नेताहरुको खुलेआम संरक्षण पाएकै कारण रोनाल एकपछि अर्को अपराधमा संलग्न हुँदै आएका हुन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको छत्रछायामा उनले अपराधिक राज चलाइरहेको प्रहरीको विश्लेषण छ ।

कार्की भने रोनाललाई आफ्नो संरक्षण नरहेको बताउँछन् । ‘त्यो घटनामा रोनाल छैनभन्ने पनि सुनेको थिएँ । प्रहरीले पछि पक्राउ गर्योभन्ने पनि सुन्नमा आयो । घटना के भएको रहेछ भनेर मैलै प्रहरीमा बुझ्न चैं बुझें । तर, यो घटनाका विषयमा मैले केही पनि भनेको छैन । अरुले जेसुकै भनेपनि त्यसका पछाडि लाग्न हुँदैन,’ पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता कार्कीले भने ।

प्रहरी स्रोत भने रोनाललाई नेताहरुले नै सुध्रिन नदिएको बताउँछ । ‘रोनाल कहिल्यै सुध्रिएनन् । कुनै घटनामा संलग्न भएर पक्राउ गर्दा छाड्नका लागि दबाब आउँछ,’ प्रहरी स्रोतले भन्यो, ‘उनलाई नेताहरुले प्रयोग गरिरहेका छन् । सुध्रिनुपर्ने ठाउँमा नेताको ‘गोटी’ बनेर अपराधमा संलग्न हुन्छन् ।’

राजनीतिक संरक्षणकै कारण रोनाल सुध्रिने बाटोमा नगएको प्रहरीका एक अधिकारीको बुझाइ छ । ‘सुध्रिन्थे होलान्, तर नेताहरुले नदिने भए । आफूअनुकूल प्रयोग गर्न पाएकै कारण संरक्षण दिइरहेका छन् । कुनै घटनामा कारबाही नगर्न दबाब दिनु भनेको अर्को अपराध गर्न उक्साउनु हो । रोनालको अपराधिक पृष्ठभूमिले ठ्याक्कै त्यसको पुष्टि गर्छ । एकपछि अर्को अपराध गरिरहेका छन् । सबै घटनामा राजनीतिक संरक्षण पाएका छन्,’ उनले भने ।

उनका अनुसार राजनीतिक संरक्षणमा हुने गैरकानुनी गतिविधिले जघन्य अपराधका घटना निम्त्याएका धेरै उदाहरणहरु छन् । विगतमा प्रभावकारी कारबाही भइदिएको भए रोनालको समूह दोहोर्याएर अपराधिक घटनामा संलग्न नहुने प्रहरीको विश्लेषण छ । अहिले भगवतीका छोरीमाथि आक्रमण हुनुको पछाडि पनि विगतमा फितलो कारबाही नहुनुकै परिणाम रहेको प्रहरी स्रोतले बतायो ।

विभिन्न अपराधमा संलग्न रहेका उनीविरुद्ध २०७१ सालयता आधा दर्जन बढी मुद्दा दर्ता भइसकेका छन् । पहिलोपटक २०७१ साल जेठ ६ गते पक्राउ परेका थिए । त्यतिबेला उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।

प्रहरीले २०७३ साल असार ३१ गते पक्राउ गरेर ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । हरि बस्नेतको जाहेरीका आधारमा व्यक्तिको हत्या प्रयास गरेको घटनामा उनलाई प्रतिवादी बनाइएको हो । त्यसपछि उनले अपराधिक गतिविधि झन् बढाउँदै लगे । २०७४ सालमा मात्रै ३ पटक पक्राउ परेको रेकर्ड प्रहरीसँग छ ।

रोनाल पुनः २०७४ साउन १९ गते पक्राउ परे । प्रहरी प्रतिवेदनका आधारमा सार्वजनिक अपराध मुद्दा चलेको देखिन्छ । उनीविरुद्ध तत्कालीन असइ (हालका सइ) राजेन्द्र पासवानले जाहेरी दिएका थिए । रोनाल २०७४ असोज ११ मा पनि अभद्र व्यवहार मुद्दामा पक्राउ परे । इलाका प्रहरी कार्यालय रानीले प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाएको थियो ।

रोनाललाई २०७४ फागुन ११ गते पुनः प्रहरीले पक्राउ गर्यो । सूर्यकुमार प्रसाईंको जाहेरीका आधारमा पक्राउ गरेर प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

उनलाई २०७७ कात्तिक १९ गते पक्राउ गरेर प्रहरीले अपराधिक विश्वासघात (ठगी) मुद्दा चलाएको थियो । सट्टेबाजी (फड्का)मा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा रोनाल पक्राउ परेका थिए । अहिले पक्राउ नपरेपनि ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान भइरहेको छ ।

विराटनगरको रत्ना होटलमा सञ्चालित सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका रोनालमाथि २०८० पुस २७ गते राति आक्रमणसमेत भएको थियो । क्यासिनोबाटै निस्किएका झापाको घैलाडुब्बा घर भइ विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको थियो । तर, घटनामा संलग्नविरुद्ध मुद्दा चलेन । यति गम्भीर घटनालाई त्यत्तिकै सामसुम पारियो ।

गुण्डागर्दीको राज चलाउन खोज्ने रोनालको समूहले पछिल्लो समय विराटनगरमा आतंक मच्चाइरहेको छ । सत्तारुढ नेपाली कांग्रेसका नेताको संरक्षणमा सर्वसाधारणलाई धम्क्याउने, थर्काउने र आक्रमण गर्ने गरिरहेको हो ।

कुनै पनि घटनामा संलग्न भएर प्रहरीले कारबाही अघि बढाउन खोज्दा कांग्रेस नेताहरु बाधक बनिदिने स्रोतको भनाइ छ । राजनीतिक छत्रछायामा अपराधिक धन्दा चलाइरहेको यो समूहमाथि प्रभावकारी कारबाही भइरहेको छैन ।

समयमा जाहेरी नपर्दा उम्किए

घटना थाहा पाउनेवित्तिकै प्रहरीले खोजी तीव्र बनाएको थाहा पाएर रोनालको समूह फरार बन्यो । घटनाको पर्सिपल्ट भदौ ३ गते साँझ मोरङको उर्लाबारीबाट रोनालसहित घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विराटनगर ल्याएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखियो । तर, पीडित भनिएका द्रव्यराज प्रहरीको सम्पर्कमै आएनन् । उनले रोनालविरुद्ध समयमा जाहेरी दिएनन् । प्रहरीले २४ घण्टाभन्दा बढी समय राख्नसक्ने अवस्था पनि भएन । अर्कोतर्फ कांग्रेसका नेताहरुको दबाब उत्तिकै थियो । जाहेरी नपरेपछि भदौ ४ गते साँझ प्रहरीले छाडिदियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरीले नियन्त्रणमा लिएको भएपनि जाहेरी नपरेका कारण रोनाललाई छाड्नु परेको हो । ‘समयमा जाहेरी आएको भए हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने आधार हुन्थ्यो,’ उनी भन्छन्, ‘समयमा जाहेरी नपरेकाले उम्किए ।’

रोनालविरुद्ध भदौ ५ गते द्रव्यराजले किटानी जाहेरी दिए । तर, प्रहरीबाट उम्किएका रोनाल हालसम्म पक्राउ परेका छैनन् । उनी प्रहरीको फरार सूचीमा छन् ।

विराटनगरमै छन्, पक्राउ पर्दैनन्

रोनालनिकट स्रोतका अनुसार प्रहरीबाट छुटे पनि उनी विराटनगरमै छन् । फरार भनिएपनि बाहिर गएका छैनन् । ‘विराटनगरमै खुलेआम हिँडडुल गरिरहेका छन् । साथी–भाइसँगै हुन्छन्,’ स्रोतले भन्यो, ‘तर, प्रहरीको नजरमा परेका छैनन् । चाहेमा तत्काल पक्राउ गर्नसक्ने अवस्था छ ।’

प्रहरीले एकपटक नियन्त्रणमा लिएर छाडिसकेका कारण पनि अब पक्राउ नपर्ने ठानेर उनी विराटनगरमै खुलेआम डुलिरहेका हुन् । प्रहरीले भने खोजी जारी राखिएको भएपनि फेला नपरेको जनाएको छ । डीएसपी बस्नेतले रोनाललगायत घटनामा संलग्नको खोजी भइरहेको बताए ।

‘खोजी र पक्राउका लागि प्रहरी परिचालन गरिएको छ । तर, फेला पार्न सकिएको छैन । भेट्नसाथ पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौं,’ उनले भने ।

अति राजनीतिकरण

विशुद्ध अपराधिक यो घटनालाई सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले) र कांग्रेसका नेताहरुले ‘प्रतिष्ठा’सँग जोडेर अति राजनीतिकरण गरिरहेका छन् । घटनाको अनुसन्धान गर्नुपर्ने प्रहरी भने अनआवश्यक राजनीतिकरणको चपेटामा परेको छ । भगवतीसहित एमाले नेताले कारबाहीका लागि दबाब दिइरहेका छन् भने कांग्रेसका नेता जोगाउनलाई सक्रिय भएको स्रोतले बतायो ।

एउटा अपराधिक घटनालाई राजनीतिक रंग भरेर तथ्य मोड्दै आक्रमणमा संलग्न गुन्डा समूहलाई उन्मुक्ति दिने खेल भइरहेको छ । सत्तारुढ दलको दोहोरो दबाबका कारण प्रहरी भने अन्योलमा परेको छ ।

राजनीतिक संरक्षणकै कारण गुण्डागर्दीमा संलग्नको मनोबल बढेको छ । गुन्डा समूहले विभिन्न अपराधिक घटना गराइरहँदा पनि राजनीतिक दबाबमा सामसुम पार्ने गरिएको छ । जसका कारण दिनदहाडै व्यक्तिमाथि आक्रमण गर्ने र कानुन हातमा लिने समूह सक्रिय हुन थालेको छ । रोनालको समूहले फड्का र सट्टेबाजीको धन्दा पनि चलाइरहेको सूचना प्रहरीलाई छ ।

हुन त पछिल्लो घटनाको प्रकृति हेर्दा ज्यान मार्ने उद्योगको मुद्दा चल्ने अवस्था पनि देखिँदैन । सत्तारुढ पार्टी र त्यहाँमाथि पूर्वमन्त्रीकै छोरा भएका हिसाबले दबाबमा परेको प्रहरी अन्ततः ज्यान मार्ने उद्योगको जाहेरी लिन बाध्य भयो । तर, मुद्दा स्थपित हुने देखिँदैन । किनभने ज्यान मार्ने उद्योग ठहर हुन घटनामा हतियार प्रयोग भएको हुनुपर्छ । चोटपटक लागेर घाइतेको अवस्था निक्कै जटिल हुनुपर्छ ।

घटनाबाट पीडित भनिएकाहरु सामान्य उपचारपश्चात आफ्नो नियमित काममा फर्किसकेका छन् । अस्पतालमा भर्ना भएर लामो समय उपचार गराउनुपर्ने अवस्थाको चोटपटक पनि थिएन ।

पीडित भनिएका द्रव्यराजले आफूहरुमाथि इँटा र हेल्मेट प्रहार भएको बताएका छन् । ठूलो चोटपटक नरहेको उनले बताए । भने, ‘आक्रमण चैं ज्यान मार्ने नै नियतले नै भएको हो । हामीले भागेर ज्यान बचायौं । ठूलो चोटपटक छैन । घटनामा हतियार प्रयोग पनि भएको हैन ।’

तर, नेताहरुले अनआवश्यक दबाब दिइरहँदा रोनालजस्ता अपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथिको कारबाही प्रभावित हुने सम्भावना बढेको प्रहरीका एक अधिकृतले बताए । ‘ज्यान मार्नेभन्दा पनि तर्साउने हिसाबले आक्रमण गरेजस्तो देखिन्छ । तर, घटनालाई अतिरञ्जित गरियो । अति राजनीति भयो,’ प्रहरीका एक अधिकृत भन्छन्, ‘यो घटनामा संलग्नलाई अभद्र व्यवहार मुद्दा चैं चलाउन सकिन्थ्यो । ज्यान मार्ने उद्योग ठहर हुने अवस्था छैन । प्रमाणले पनि मुद्दा मजवुत हुने देखिँदैन ।’

नेताको दबाबमा कानुन चल्नुपर्ने अवस्था हुँदा समस्या भइरहेको उनको भनाइ छ । उनले राजनैतिक दबाब नआएमा मात्रै कानुन कार्यान्वयन प्रभावकारी हुने बताए ।

 

clockप्रकाशित मिति:  २०८१ भाद्र १६, आइतबार १८:५२
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.