
मकवानपुर । सशस्त्र प्रहरीले मकवानपुरको हेटौँडाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो हेटौँडा उपमहानगरपालिका-१, चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ पक्राउ परेका हुन् । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उनीहरूलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ गर्ने क्रममा उनीहरू भाग्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले एक राउन्ड हवाई फायर गरेको थियो । उनीहरूबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद भएको छ ।
नियन्त्रणमा लिइएका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने क्रममा रहेको सहप्रवक्ता थापाले बताए ।

























