
विराटनगर । रोटरी क्लब अफ विराटनगरलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रविधि र प्राविधिक शिक्षामा जोड्ने अभियानको थालनी गरेको छ ।
क्लबले विशेष गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी काम गरेको बताएको छ । त्यसअनुरुप क्लबले सामुदायिक विद्यालयका छात्र÷छात्रा दुवैलाई प्रविधिसँग जोड्नका लागि प्राविधिक शिक्षा दिन थालेको अध्यक्ष मनोजविक्रम शाहले बताए । उनका अनुसार यो संस्था भनेको नाफामुखी नभइ सेवामुखी संस्था भएकाले गरिब, विपन्न, पिछडिएको वर्गलगायतको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर पिछडा सामुदायलाई शिक्षामार्फत सशक्तीकरण बनाउने काम रोटरी क्लब अफ विराटनगरले सुरु गरेको बताउँदै, अध्यक्ष शाहले भने, ‘यो पहिलो चरणको कार्यक्रम हो । यसलाई क्लबले निरन्तरता दिँदै विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर उनीहरुलाई आत्मसक्षम बनाउने काम गर्ने छ । प्रविधिसँग जोड्ने अभियानअन्तर्गत अहिले २ वटा विद्यालयका विद्यार्थीलाई कम्प्युटर तालिम दिएका छौं । उनीहरुलाई चाहिने सफट्वेर र हार्डवेरको ‘बेसिक’ तालिम दिइएको छ ।’
कम्प्युटर तालिम लिएका अधिकांशले यसअघि कम्प्युटर छुनसम्म नपाएको सुनाएका थिए । उनीहरुले यो तालिम लिएपछि आफूहरुमा धेरै फरक आएको अनुभूति भएको बताए । तालिममा सफट्वेरअन्तर्गत अहिले चाहिने अफिस प्याकेज र हार्डवेयरमा कम्प्युटर कसरी जोड्ने जस्ता ज्ञान प्राप्त गरेको बताएका थिए ।
आफ्नो कार्यकालमा भर करिब २ सय जना विद्यार्थीलाई कम्प्युटरको शिक्षा प्रदान गर्ने योजना बनाएर काम थालेको बताउँदै, अध्यक्ष शाहले भने, ‘विद्यार्थीलाई प्रविधिसँग जोडेर रोजगारमुखी शिक्षा प्रदान गर्नका लागि यो अभियानको सुरुवात गरेका हौं । उनीहरुलाई तालिमका लागि मात्रै नभइ व्यवहारिक बन्न सक्ने गरी ज्ञान प्राप्त गर्ने छन् ।’
यसको सुरुवातमा २० जनाबाट भएको र चाँडै अर्को समूह तयार पारेर तालिम दिइने उनले बताए । विभिन्न क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसंस्थाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षका लागि कम्प्युटरजस्ता प्रविधि दिएर सहयोग गर्न सके राम्रो हुने सहभागीहरुले बताए ।
क्लबले कम्प्युटर तालिमका लागि ४ जना प्रशिक्षक राखेर काम थालेको छ । अध्यक्ष शाहले आफू पढेको विराटनगर–२ स्थित जनता नमुना विद्यालयको व्यवस्थापन समालेदेखि स्कुलको स्तरोन्नति गरेका छन् । उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद समाल्दा विद्यालयमा न्यून संख्यामा विद्यार्थी थिए । विद्यालयको पठनपाठनमा सुधार गर्दै विभिन्न गतिविधि गर्न थालेपछि विद्यार्थीको संख्या बढ्नुका साथै परीक्षाफलको नतिजा पनि राम्रो हुन थालेको शाहले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले आजको विश्व प्रविधिमैत्री भएको बताए । अहिलेको मुख्य आवश्यकता प्रविधिमैत्री शिक्षा भएकोले रोटरीले विद्यार्थीहरुलाई दिएको तालिम एकदमै फलदायी रहेको बताए । उनले विद्यार्थीहरुलाई सानै कक्षादेखि प्रविधि र सामाजिक कार्य जस्ता शिक्षासँग जोडेर अघि बढाउन सके आजको आवश्यकता केही पूरा हुने बताएका हुन् ।
शिक्षाको सार्थक परिणामका लागि प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नुपर्ने उनले बताए । शैक्षिक रुपान्तरण गर्दै प्रविधिसँग जोडेर विद्यार्थीलाई रोजगारमुखी शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको थपलियाले बताए ।

तालिमबाट आफू प्राप्त गरेको ज्ञान र सीपबारे बताउँदै, विराटनगरस्थित जनता माविकी दुर्गा यादवले भनिन्, ‘कक्षा १२ मा पढे पनि कम्प्युटर अर्थात् आइटी सम्बन्धी राम्रोसँग ज्ञान थिएन । तालिमको पहिलो दिनदेखि अन्तिम दिनसम्म आइपुग्दा ममा धेरै परिवर्तन पाएँ । अहिले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै अफिस प्याकेज राम्रोसँग चलाउन सक्छु ।’
क्लबले आयोजना गरेको २५ दिने कम्प्युटर प्रशिक्षक तालिममा विराटनगरको जनता मावि र मिल्स माविका २१ जना विद्यार्थी सहभागी थिए । जसमा १९ जना छात्रा र २ जना छात्रको सहभागिता रहेको थियो ।

























