
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोट भएको ७ दिन भइसक्यो । घटनामा २ जना बालबालिकाको मृत्यु भयो भने दुई जना घाइते भएका छन् ।
घटनाका विषयमा कोशी प्रदेश सरकार भने बेखबर छ । सरकारलाई यसको लिखित जानकारी नै छैन । जानकारी नभएको भन्दै प्रदेश सरकारले मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचारमा चासो दिएको छैन ।
बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचारका लागि कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । दुवै अस्पतालले पवन र दिप्सनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजानका लागि आफन्तलाई भनेका थिए ।
तर, खर्च नहुँदा अभिभावकले फर्काएर फिदिम नै लगे । गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो । मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरूको अवस्था गम्भीर देखेपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजान दबाब दिए ।
‘‘कोशी अस्पतालमा चिकित्सकले सिटिस्क्यान गरेर ल्याउनु भनेपछि पवनलाई आमाले फर्काएर फिदिम नै ल्याउनु भएको छ । काठमाडौं लैजानुपर्ने दिप्सनलाई पनि फिदिम नै फर्काइएको रहेछ,’ सीबीन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले भने, ‘दुवै बालकको अवस्था जटिल देखेपछि उपचारका लागि पठायौं । थप उपचार कीर्तिपुर बर्न अस्पतालमा हुन्छ ।’
उनका अनुसार दुई बालकलाई काठमाडौं विमानस्थलसम्म पुर्याउने जिम्मा स्थानीय सरकार फालेलुङ गाउँपालिकाले लिएको छ । विमानस्थलबाट सीबीनले उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने छ ।
गत बिहीबार डाडागाँउका आइतराज केरुङको घरमा द्वन्द्वकालको ‘हेनमेड सकेट बम’ विस्फोट भएको थियो । केरुङ माओवादी कार्यकर्ता हुन् । घटनामा अढाई वर्षीया प्रिन्सा सावाँ र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो । उनीहरु दाजु–बहिनी हुन् ।
बम विष्फोटमा परेर बालक पवन राई र दिप्सन राई घाइते भएका थिए । घाइतेमध्ये दिप्सनको अवस्था गम्भीर छ । तर, उनीहरूको उपचारमा प्रदेश र संघीय सरकारले चासो दिएको छैन ।
सरकार भने भाइरलको पछाडि दौडिरहेको छ । विष्फोटमा परेर बालबालिकाको ज्यान गएको यति दर्दनाक घटनामा बेखबर भएर सरकार भाइरल व्यक्तिका पछाडि मात्रै दौडनु अचम्मको विषय भएको टिप्पणी सरोकारवालाले गरेका छन् । यो घटनालाई जोडेर सरकारसँग मानवीयता हराएको रूपमा टिप्पणी हुन थालेको छ ।
नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो संसद बैठकमा आफूले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिका लागि कुरा उठाएको बताउँछन् । त्यसका लागि सरकारलाई लिखित रूपमा जानकारी गराएको उनको भनाइ छ ।
‘सरकार भाइरलको पछाडि दौडिएको छ । मन्त्री र सांसद सबै भाइरलका पछाडि हिँडेका छन् । पाँचथर घटनाका बारेमा कसैले बोलेका छैनन् । सबै चुपचाप छन् । सरकारले पनि केही गरेको छैन,’ आङ्बो भन्छन् ।
हेर्ने कथा मार्फत ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका भोजपुरका प्रकाश तामाङलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन गरेर सहयोग गर्ने बचन दिएका थिए । तर, पाँचथर बम विस्फोटको घटनाको घाइतेका विषयमा सरकारले चासो नदिएको उनले बताए ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी बम विष्फोटका घाइतेको उपचारका लागि खर्च माग भए सरकारले सहयोग गर्ने बताउँछन् । उनका अनुसार सरकारसँग अहिलेसम्म माग भएर आएको छैन । ‘राज्यले घाइतेको उपचार गर्छ । तर, सीडीओ कार्यालयमार्फत लिखित रुपमा आउनुपर्छ,’ अधिकारीले भने ।
लिखित रुपमा आए मृतकका लागि प्रदेश सरकारले क्षतिपूर्ति दिने उनले बताए । प्रहरीका अनुसार गत बिहीबार फालेलुङ–५ मा माओवादी कार्यकर्ता आइतराज केरुङको घरको आँगनमा सकेट बम विस्फोट भएको थियो । घरनजिकै अम्लिसो बारीमा फलामको डल्लो भेटेपछि बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । प्रहरीले द्वन्द्वकालकै ‘हेनमेड सकेट बम’ विस्फोट भएको जनाएको छ ।

























