पाथीभराको उकालोमा ठमठमी हिँड्ने ट्याक्सी !

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार ०७:०८

विराटनगर । ट्याक्सी भन्नेबित्तिकै सम्झनुभयो होला सडकमा गुड्ने चार पांग्रे सवारी । यातायातको पूर्वाधार पुगेका स्थानमा चार पांग्रे टयाक्सी नै कुद्छन् ।

ताप्लेजुङको पाथीभरा मन्दिर जाँदै हुनुहुन्छ भने चैं ट्याक्सी फरक पाउनु हुनेछ । पाथीभरामा चार पांग्रे ट्याक्सीको बाटो तल्लो फेदी (काफ्लेपाटी)सम्म मात्रै छ । तल्लो फेदीबाट हिँड्न नसक्ने तीर्थयात्रीलाई भरियाले बोकेर मन्दिरसम्म पुर्याउँछन् ।

पाथीभरा मन्दिर पुर्याउने र ल्याउने कार्यमा स्थानीय युवाहरुको समूह सक्रिय छ । उकालो पैदल बाटोमा तीर्थयात्रीलाई बोक्ने भरियालाई ‘ह्युमन ट्याक्सी’ भन्छन् ।

हिँड्न नसक्ने यात्रुलाई पिठ्युँमा बोकेर पाथीभरा मन्दिरसम्म पुर्याउछन् । यात्रुलाई पिठ्युँमा बोक्नका लागि छुट्टै नाम्लो बनाएका छन् ।

‘लौ ट्याक्सी आयो, ट्याक्सी….’ पाथीभरा मन्दिर पुग्नका लागि माथिल्लो फेदीबाट उकालो लाग्दै गरेका यात्रुलाई स्थानीय विकाश लिम्बू भन्दै थिए । लिम्बूले ट्याक्सी आयोभन्दा मन्दिर जाँदै गरेका यात्रुले फर्किएर हेर्दै भने, ‘यहाँको ट्याक्सी बोल्दो पनि रहेछ ।’

विकाश उकालो हिँड्न नसक्ने यात्रुलाई पिठ्युँमा बोकेर पाथीभरा मन्दिरसम्म पुर्याउछन् । यात्रुलाई पिठ्युँमा बोक्नका लागि उनले छुट्टै नाम्लो बनाएका छन् । पाथीभरा जाने यात्रुलाई उनीजस्तै स्थानीय युवाले बोक्छन् । यात्रु बोकेर प्रतिकिलोका हिसाबले भाडा लिँदा उनीहरुको गुजारा चलेको छ ।

ताप्लेजुङकै नवीन शेर्पा ‘ट्रेकिङ गाइड’ छाडेर यात्रु बोक्न पाथीभरा मन्दिर आइपुगे । अहिले पाथीभरासम्म यात्रु बोक्छन् । उनी पनि ‘ट्याक्सी आयो’ भन्दै तीर्थयात्री खोज्छन् ।

बाटोमा उकालो हिँड्न नसक्ने यात्रुलाई बोकेर उनी मन्दिरसम्म पुर्याउँछन् र बोकेरै तल्लो फेदीसम्म ल्याउँछन् । यात्रु बोक्नका लागि २ जनाको टिम बनाएका छन् । उकालो बाटो लामो भएका कारण उनीहरुले आलोपालो गरी यात्रु बोक्छन् ।

उकालो यात्रा गर्न नसक्नेलाई बोक्ने भएका कारण उनी आफूलाई भरिया भन्न रुचाउँदैनन् । ट्याक्सी भन्छन् । भरियाले मन्दिरसम्म बोकेर पुर्याएको र तल्लो फेदीसम्म ल्याएको न्यूनतम १ सय रुपैयाँ प्रतिकिलो लिने गरेका छन् । सिजनमा १ जना भरियाले दैनिक २ जनालाई बोकेर मन्दिरसम्म पुर्याउँछन् ।

पाथीभरामा मन्दिरसम्म पुग्नका लागि केवलकार बनाउने गृहकार्य भइरहेको छ । केवलकारको विरोधमा स्थानीय आन्दोलित छन् ।

पाथीभरा क्षेत्र विकास समितिले भरियाका लागि नम्बर तोकिदिएको छ । मन्दिरमा यात्रु बोक्ने भरियाको संख्या १ सय हाराहारी छ । तीर्थयात्रीको सहजताका लागि भरियाका यात्रु सहयोगी भनेर छुट्टै ‘एप्रोन’ बनाइदिएको छ ।

पाथीभरामा मन्दिरसम्म पुग्नका लागि केवलकार बनाउने गृहकार्य भइरहेको छ । केवलकारको विरोधमा स्थानीय आन्दोलित छन् । केवलकार सुरु भए ‘ह्युमन ट्याक्सी’को पेसा पनि संकटमा पर्नेछ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिलगायत पहिचान पक्षधरले केवलकार निर्माण गर्दा सांस्कृतिक र प्रकृतिक पहिचान मासिने भन्दै विरोध गरिरहेका हुन् । स्थानीय पालिकासहित ठूला राजनीतिक दलको नेतृत्व भने पाथीभरामा केवलकार निर्माण गर्नुपर्ने पक्षमा छ ।

पाथीभरामा केवलकार निर्माण हुँदा तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बन्नेछ । पाथीभरादेवी दर्शन केवलकार प्रा.लि नामक कम्पनीले केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका–११ को काफ्लेपाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको जग्गा ९० लाख रुपैयाँ प्रतिरोपनीका दरले ५ वर्षअघि खरिद गरेको थियो ।

‘बेस स्टेशन’ निर्माणका लागि तल्लो फेदीमा २०७७ चैत ३० मा २९ रोपनी जग्गा पास गर्दा प्रा.लिले २ करोड ३४ लाख ७७ हजार रुपैयाँ राजस्व तिर्यो । केवलकार निर्माणको लागत अनुमान करिब ३ अर्ब छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.