गाईपालनबाट स्वरोजगार बनेका इलामका दिनेश

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १४:४०

इलाम । इलामको सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारी दिएका छन् ।

चार वर्षअघि ३० लाख रुपैयाँ लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा अहिले १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना छन् भने पाँच वटा चाँडै बियाउने अवस्थामा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।

महतले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर ५५ देखि ६० रुपैयाँसम्ममा नजिकैको सहकारीलाई बिक्री गर्दै आएका छन् । दूध बिक्रीबाट वार्षिक करिब ११ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । तर, लगानीअनुसार दूधको मूल्य नपाएको उनको गुनासो छ ।

गाईपालनबाट स्वरोजगार बनेका महतले फार्ममा दुई जना युवालाई खानबस्नको सुविधासहित मासिक १८ हजार रुपैयाँ तलब दिएर रोजगारी दिएका छन् । फार्मका लागि ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाएका छन् ।

गाईपालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुसखेती र बाँकी क्षेत्रमा चियाखेती पनि गर्दै आएका छन् । गाईको मल आफ्नै कृषि उत्पादनमा प्रयोग गर्ने गरेको उनले बताए ।

गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउँछन् । युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.