पूर्वमुख्यमन्त्री कार्कीको अनशन : सहमति पत्रमै त्रुटि

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार १८:२१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन त्रुटिपूर्ण हिसाबले सहमति पत्र तयार पारेर समाप्त गरेको पाइएको छ ।

प्रदेश सरकारसमक्ष विभिन्न ९ बुँदे माग राख्दै कार्कीे मंगलबार (भदौ २५ गते) आमरण अनशनमा बसेका थिए । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले बुधबार (भदौ २६ गते) राति अनशन तोडेका हुन् ।

सरकारसँग सहमति भएपछि विराटनगर महानगरपालिका–६ की निर्मला शर्माका ४२ दिनका शिशुको हातबाट जुस खाएर कार्कीले अनशन तोडेका थिए । अनशत तोड्नुअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री लिलाबल्लभ अधिकारी र आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कार्की पक्षसँग वार्ता गरेर सहमति जुटाएका हुन् ।

तर, सहमति पत्र भने त्रुटिपूर्ण हिसाबले तयार पारेको पाइएको छ । उक्त सहमति पत्रमा अनशनमा बसेका पूर्वमुख्यमन्त्री कार्की र सरकारका तर्फबाट मन्त्री अधिकारी तथा रोहबरमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको हस्ताक्षर छ ।

रोहबरमा कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ र कांग्रेस मोरङका कार्यबहाक सभापति भक्तिनाथ माझीको पनि नाम छ । तर, उनीहरुको हस्ताक्षर भने छैन ।

सहमति पत्रमा मिति गलत लेखिएको हो । कार्कीले भदौ २४ गते सोमबार सुरु गरेको अनशन भदौ २५ गते मंगलबार समाप्त भएको भनेर पत्र तयार पारिएको छ । जबकि उनले मंगलबार अनशन सुरु गरेर बुधबार राति ९ बजेतिर तोडेका हुन् ।

सुरु भएको दिन अनशन समाप्त भएको भनेर सहमति पत्रमा उल्लेख गरिएको छ । उक्त सहमति पत्र कार्कीकै कानुन व्यवसायी एवं प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले तयार पारेका थिए । कोइरालाले पत्र आफूले नै तयार पारेको उल्लेख गरे ।

लेख्ने क्रममा त्रुटि भएको हुनसक्ने उनको भनाइ छ । सुरुमा उनले पत्र सही रहेको र त्रुटि नै नभएको दाबी गरे । कुरा हुँदै गएपछि उनले भने, ‘ए त्रुटि भएछ ? थाहै पाइएन । पत्रमा मिति फरक परे पनि अनशन बसेको र अन्त्य गरेको त पक्का हो नी ।’

मिति लेख्न त्रुटि भए पनि सहमति पत्रले मान्यता पाउने अधिवक्ता कोइरालाको भनाइ छ । ‘मिति गलत भए पनि अनशन बसेको कुरा लेखिएकै छ । त्यसमा सम्बन्धितको हस्ताक्षर छ । त्यो सहमति पत्रले मान्यता पाउँछ,’ उनले भने ।

मन्त्री अधिकारीले कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक रहेको बताएका थिए । उनले पत्रको मितिमा नभइकन विषयवस्तुमा केन्द्रित भएर सहमति र हस्ताक्षर गरिएको बताए । उनले गरेको हस्ताक्षरमा भने सही मिति उल्लेख गरेका छन् ।

कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमत भएकाले अनशन तोडेको उल्लेख गरेका थिए । प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिर नजिक निषेधित क्षेत्रभित्र मंगलबार दिउँसो ४ बजेदेखि कार्की आमरण अनशन बसेका थिए ।

उनकै अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधित क्षेत्रमै अनशन बसेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाड्यो ।

घरमा नबसिकन फर्किएर आएका कार्की निषेधित क्षेत्रभन्दा बाहिर देवकोटा चोकमा आमरण अनशन बसेका थिए । आफ्नो नेतृत्वमा सरकार हुँदा संचालन गरेका जनप्रिय कार्यक्रम सरकारले कटौती गरेको भनेर विरोध जनाउँदै कार्कीले अनशन सुरु गरेका थिए ।

विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र संचालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग उनको थियो ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.