
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बालअधिकार संरक्षणमा समर्पित रहेको बताएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा आज (शनिबार) शुभकामना सन्देश जारी गर्दै उनले सरकार बालबालिका देशको भविष्यका आधार हुन्भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित भएको बताएका हुन् । बालअधिकार रक्षाका लागि बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको कार्की बताउँछन् ।
बालबालिकाको अधिकारको रक्षा गर्दै बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराउन सक्दा मात्रै उनीहरुलाई भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने चर्चा मुख्यमन्त्री कार्कीले गरेका छन् । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।
बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता विषयहरूले बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति गराउने उनले उल्लेख गरेका छन् । ‘बालबालिकाको हितका लागि प्रत्येक वर्ष कोशी प्रदेश सरकारले विभिन्न योजना र कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘यो कार्य आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वास दिलाउन चाहन्छु ।’
अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले ‘अनलाइन कक्षा’बाट समेत अहिले बञ्चित हुनु परेको अवस्था रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकाहरुलाई पढ्न पाउने वातावरण बनाउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको जानकारी दिए ।
‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बालदिवस– २०८१ मुलुकभर विभिन्न कार्यक्रम गरेर शनिबार मनाइँदै छ ।























