
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्द कदम चालेको दोहोर्याएका छन् ।
मोरङको ग्रामथानस्थित नेताचोकमा आयोजित पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारविरूद्द, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताए । मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बीआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको उनको भनाइ छ ।
इटाली र राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको विश्वमा चर्चा भएको र त्यसले नेपालको छविमा सुधार आएको दाबी प्रचण्डको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेर सुशासनको सुई बालकोट र बुढानीलकण्ठ तिर सोझिएपछि सरकार ढालिएको उनको जिकिर छ ।
तर, आफू सरकारबाट निस्किँदा पनि बिजेताको भावमा जनतामा आएको बताउँदै प्रचण्डले सरकारमा रहनेहरूको भने डरले गएको सातो अझै नफर्किएको दाबी गरे । अहिलेको सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएको आरोप लगाए ।
पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उपनिर्वाचनमा काङ्ग्रेस–एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए । उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूको विरूद्दमा काम गरेकै कारण माओवादी ठूलो पार्टी बन्ने दाबी उनको छ ।
अहिलेको सरकार भ्रष्टाचारको भयबाट बनेकाले छुट्टयाइएको बजेट पनि दुरूपयोग हुनसक्ने बताए । दुईतिहाइको सरकार छ भनेर दम्भ देखाए भने बंगलादेश हेर्दा हुन्छ भनेर भनेको भन्दै उनले शतप्रतिशत मत ल्याएको सद्दाम हुसेनको उदाहरण हेर्न सुझाव दिए ।
एमालेले आफूले भनेको कुरालाई बंग्याएर भ्रम फिँजाउन खोजेको भन्दै सरकारले, जनताको र राष्ट्रको विरूद्द भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाउने र आफ्नो पार्टी पनि जनतामै जाने प्रचण्डले बताए । सरकारले कूलमान घिसिङलाई हटाउन खोजे उनीहरूले ठूलो मूल्य चुकाउने बताउँदै त्यसो नगर्न आफूले सुझाव दिएको उल्लेख गरे ।
माओवादीले लडेर आएको व्यवस्थामा बसेर माओवादीलाई नै हेला–होचो गर्न कोशिस गरे फेरि आन्दोलन उठ्ने चेतावनी उनले दिए । ‘उनीरूले सत्य र न्यायको गला रेट्ने प्रयास गरे भने दलाल र भ्रष्टहरूको विरूद्द उठ्नु पर्ने हुनसक्छ’ प्रचण्ड भन्छन् । उनले जीवनको उत्तरार्ध भएपनि जोश आएको बताए । ‘भ्रष्टाचारविरूद्द सुशासनको पक्षमा लड्ने जोश आएको छ । मरेपछि पनि बाँचिरहने बन्ने मेरो प्रयास छ,’ उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदीले भ्रष्टाचार काण्ड जोगाउनै अहिलेको सरकार बनेको बताए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका काण्डमा धमाधम कारबाही गर्न थालेपछि कांग्रेस र एमाले अत्तालिएर सरकार परिवर्तन गरेको बताए । उनले ग्रामथानमा हुन लागेको उपनिर्वाचनमा माओवादीलाई जिताउन आग्रह पनि गरे ।
विभिन्न पार्टी छाडेकाहरु कार्यक्रमको अवसर पारेर माओवादीमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसका नेता नमोनारायण चौधरीको नेतृत्वमा उनीहरु प्रवेश गरेको माओवादीले जनाएको छ ।

























