
विराटनगर । नेपाली कांग्रेसले रंगेली नगरपालिकाविरुद्ध सुरु गरेको आन्दोलन फिर्ता भएको छ । पालिका नेतृत्व कर घटाउन सहमत भएपछि एकसातादेखि चलेको कांग्रेसको आन्दोलन फिर्ता भएको हो ।
पालिकाले वृद्धि गरेको कर फिर्ताको माग गर्दै नेपाली कांग्रेसले रंगेलीमा एकसातायता आन्दोलन गरिरहेको थियो । आइतबारको छलफलपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले जानकारी दिए । ‘हामीले उठाएको एजेण्डा अनुसार माग सम्बोधन गर्न पालिका तयार भएपछि आन्दोलन फिर्ता भयो,’ उनले भने ।
पालिकाले मालपोत कर प्रतिकट्ठा २० रुपैयाँबाट बढाएर ३४ रुपैयाँ बढाएको थियो । कांग्रेसले २६ रुपैयाँमा झार्न माग गरेको थियो । २६ रुपैयाँमा झार्न पालिका नेतृत्व सहमत भएको छ । त्यस्तै फुसको घरको यसअघि १०० रुपैयाँ कर निर्धारण गरिएको थियो, अब कर नलगाउने सहमति भएको घिमिरेले बताए । सिफारिस दस्तुर पाँच सयमा झारिएको उनले बताए ।
कांग्रेस, नेकपा (एमाले) जिल्ला तहका पदाधिकारी र पालिका प्रमुख र उपप्रमुखसहितको छलफलपछि पालिका कर घटाउन सहमत भएको थियो । २ दलबीच भएका सहमति अनुसार वृद्धि भएको घर अब घट्ने घिमिरेले बताए ।
बैठकमा नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर भूमाकुमारी पराजुली, कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव घिमिरे, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापालगायतको उपस्थित थिए । कांग्रेसले गरेको आन्दोलनका कारण नगरपालिकाको दैनिक कामकाजसमेत प्रभावित भएको थियो ।

























