
पाँचथर । फिदिम नगरपालिका–७ रानीटारमा भव्य रुपमा रोपाइँ जात्रा मनाइएको छ ।
प्रत्येक वर्ष रानीटारको बराजु खेल मैदानमा रोपाइँ जात्रा हुने गरेकाले जात्रा हेर्नका लागि विभिन्न ठाँउबाट दर्शक आउन गरेका छन् ।
अझ त्यस मैदानमा जात्राका साथ केही दिनदेखि फुटबल प्रतियोगिता भइरहेकाले सो क्षेत्रमा निकै चहलपल देखिन्थ्यो । रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले ‘पीटी’ प्रर्दशन गर्नुका साथै गोरु, वाहुसेलगायतको अभिनयमा कलाकार खेल मैदानमा पुगेका थिए ।
खेल मैदानलाई खेत ठानेर रोपाइँ जात्रा सुरु भयो । रोपाइँ जात्रामा रानीटार मावि र सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।
छात्राहरु रोपाइँको अभिनय गर्न खेल मैदानमा प्रवेश गरे । उनीहरु विभिन्न जातजातीमा आधारित परम्परागत पोशाकमा सजिएका थिए । बहुजातीय साँस्कृतिक पोशाकका कारण मैदान आकर्षक देखिन्थ्यो । रोपाइ गरिरहेका दृश्य सुन्दर देखिन्थे ।
रोपाइँ जात्रा स्थलमा प्रकृतिले थप रौनक थपिदिँदा अझ रमाइलो मानेका थिए ।
कहिले कुहिरोले छोप्थ्यो, कहिले सिममिस पानीले छोप्थ्यो ।
इतिहासको परम्पराको सम्झनामा रोपाइँ जात्रालाई पुनः शुभारम्भ गरिएको बताउँदै, आयोजक रानीटार युनाइटेड क्लबका अध्यक्ष टंक गुरुङले भने, ‘कृषकका विषय उठान गर्ने, विद्यार्थीहरुलाई कृषिसम्बन्धी नयाँ जानकारी दिँदै परम्परालाई निरन्तरता दिन खोजीएको हो । वर्षौंअघि यहाँ रोपाइँ जात्रा हुने गथ्र्थो । त्यसलाई निरन्तरता दिइएको हो । बाल दिवसको अवसरमा रोपाइँ जात्रा हुन्थ्यो । द्वन्द्वकालमा रोकिएको जात्रा ६ वर्ष आगाडिदेखि पुनः सुरु गरे पनि कोभिडले गर्दा फेरी रोकिएको थियो ।’

























