दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु, प्रहरीका सइमाथि अनुसन्धान हुँदै

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३१, सोमबार ०८:३९
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको रतुवामाई नगरपालिका–५ झपटतालमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

सडकमा गुडिरहेको मे ९ प ५४२८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–०१६ प ६३४० नम्बरको स्कुटरले यही भदौ २५ गते बिहान पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । स्कुटर प्रहरीले चलाएका थिए । दुर्घटनामा स्कुटरको पछाडि सवार रतुवामाई–४ की ४८ वर्षीया रुपकुमारी राजवंशी घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान ६ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार दुर्घटनामा परेर घाइते भएकी रुपकुमारीको उपचारमा स्कुटर चालक रतुवामाई–४ का ३५ वर्षीय विजय राजवंशी र मोटरसाइकल चालक रतुवामाई–४ का ६२ वर्षीय बलराम राजवंशी संलग्न थिए ।

स्कुटरको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर चालक विजय राजवंशी नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक) हुन् । उनी सुनसरीमा कार्यरत थिए ।

दुर्घटनामा मृत्यु हुने महिला विजयको सासूआमा रहेको प्रहरी स्रोतले बतायो । घाइते महिलाको मृत्यु भएपछि स्कुटर र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटना अनुसन्धानको थप प्रक्रिया सुरु गर्ने तयारी प्रहरीले गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाइने डीएसपी बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.