विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ का सेराज अन्सारी उमागौरी कृषि सहकारी संस्थाका बचतकर्ता हुन् ।
कर्सिया बजारमा कुखुरा काटेर मासु बेच्छन् । ८ वर्षदेखि यो व्यवसाय गरिरहेका उनी ३ वर्षयता लिँदै नलिएको ऋणको भारी बोकेर किस्ता तिर्नुपर्ने दबाब झेलिरहेका छन् । सहकारीका ऋणीसमेत रहेका सेराजलाई उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले नराम्ररी झुक्याए ।
सेराज अन्सारी
चिनजान राम्रो भएपनि सेराजसँग सहकारीका अध्यक्ष शम्भुको कुनै पारिवारिक नातासम्बन्ध छैन । तर, जिजाजी (भिनाजु) भनेर बोलाउने उनले सेराजलाई २०७८ सालमा सस्तो ब्याजदरमा महिला उद्यमशील कर्जा दिने आश देखाए । उनी पनि विश्वासमा परे ।
पत्नी खुस्बु खातुनको नाममा कागजपत्र मिलाएर सहकारीलाई बुझाए । कर्मचारीले करिब डेढ महिनापछि २ लाख ऋण दिए । उनले मासिक १० हजार रूपैयाँका दरले किस्ता बुझाइरहे ।
नबिल बैंक विराटनगरको महेन्द्र चोक शाखाका कर्मचारीले उनलाई ऋण लगेर किस्ता किन नतिरेको ? भन्दै ८–९ महिनापछि फोन गरे । ‘सहकारीलाई मासिक १० हजार बुझाइरहेको छु भनें,’ सेराज भन्छन्, ‘बैंकका कर्मचारीले १० लाख रूपैयाँ ऋण लिएदेखि किस्ता नतिरेको भन्दै त्काल तिर्नु भनेर फोन काटिदिए ।’
सहकारीमा २ लाख ऋणको किस्ता बुझाइरहेका उनलाई बैंकको फोनले झस्कायो । ‘२ लाख ऋण लिएकोमा १० लाख लिएको भनेर बैंकले भनेपछि म छाँगाबाट खसेजस्तै भएँ । बैंकको केन्द्रीय कार्यालयले पनि ताकेता गर्यो,’ उनले भने, ‘२ लाख मात्रै ऋण लिएकोमा १० लाखको किस्ता कसरी तिर्नु ? भनेर प्रश्न गरें । कर्मचारीले बैंकमै आएर झिकेको छ भने ।’
सहकारीका अध्यक्ष शम्भुलाई भेटेर सोधेपछि मात्रै उनले आफ्नो नाममा १० लाख ऋण निकालिएको रहेछभन्ने थाहा पाए । शम्भुले ८ लाख आफूले चलाएको स्वीकार गरे । सेराजको नाममा १० लाख निकालेका शम्भुले २ लाख मात्रै उनलाई दिएर अरु आफैंले राखेको खुल्यो ।
२ जनाबीच विवाद हुन थालेपछि शम्भुका भाइ विनोदले बाहिर नबोल्नु भन्दै सेराजलाई ३ लाख रुपैयाँको चेक दिएका छन् । त्यो चेक साट्न मिल्ने समय भने २०८१ माघ ११ गते लेखिएको छ ।
‘मेरो नाममा बैंकबाट १० लाख निकालेर ८ लाख उसले खाएछ । हामीलाई २ लाख मात्रै दियो,’ अन्सारी भन्छन्, ‘सहकारी किस्ता एक लाख ६० हजार जति तिरेको छु । त्यसपछि तिरेको छैन ।’ शम्भुबाट ठगिएका सेराजको नाममा नबिल बैंकको ऋणको साँवा र ब्याज ११ लाख ४७ हजार पुगेको छ । नबिल बैंकबाट चेक कसरी काटियो र पैसा झिकियो भनेर उनी अनभिज्ञ छन् ।
कर्सिया बजारमा श्रीमतीको नाममा रविन ज्वेलर्स चलाउँदै आएका राजेश साह पनि शम्भुबाट ठगिएका छन् । सस्तो ब्याजमा महिला उद्यमशीलता कर्जा दिने भन्दै राजेशको नाममा पनि नबिल बैंकबाटै १० लाख रुपैयाँ ऋण निकालिएको छ ।
१० लाखको कागजमा हस्ताक्षर गरेका उनलाई २०७८ फागुन शम्भुले १ लाख रुपैयाँ दिए । बैंकबाट ऋण स्वीकृत भएको छैन भन्दै झुलाएका शम्भुले ५ महिनापछि ५ लाख ४२ हजार रुपैयाँको चेक दिए । राजेशले जम्मा ६ लाख ४२ हजार रुपैयाँ पाएका छन् ।
मासिक २६ हजार किस्ता उमागौरी सहकारीलाई बुझाइरहेका उनलाई १ वर्षपछि बैंकका कर्मचारीले फोन गरेर किस्ता किन नतिरेको ? भन्दै प्रश्न गरे । किस्ता बैंकमै बुझाउन भने । बैंकमा गएर बुझ्दा उनको नामको १० लाखको चेक २०७८ चैतमा लक्ष्मण साहले साटेको फेला पर्यो ।
‘मेरो नामको चेक कर्मचारीमार्फत भजाए छन् । तर मलाई पैसा आएको छैन, आइहाल्छ भन्दै झुलाइरहे,’ राजेश भन्छन्, ‘मैले मासिक २६ हजार किस्ता तिरिरहें । सहकारीमा ३ लाख बुझाइसकेको छु ।’ ऋण दिने बेलामा सहकारीले १ लाख रुपैयाँको त सेयर नै किनाएको छ ।
कपडा पसल विस्तारका लागि नारायण खनालले २०७७ सालमा छोरीको नाममा १० लाख रुपैयाँ महिला उद्यमशीलता कर्जा लिए । सहकारीको कार्यालय र उनको पसल नजिकै छ । सहकारी अध्यक्षले उनलाई ऋण दिनुअघि १ लाख रुपैयाँको सेयर खरिद गर्न लगाए ।
नारायण खनाल
बैंकबाट पाएको पैसामध्ये १ लाख सेयरमा राखेर उनले ९ लाख रुपैयाँ पसलमा लगाए । मासिक २६ हजारका दरले सहकारीमा २२ किस्ता रकम बुझाए । पछि नारायणलाई पनि बैंकबाट फोन आयो । त्यसपछि उनले बैंकमा तिर्न थाले ।
सहकारीमा बुझाएको रकम ठगिएपछि उनी अहिले बैंकमा किस्ता तिर्दैछन् । ‘सहकारीमा तिर्दा हुन्छ भनेपछि मैले नियमित तिरें । उसले सुरुमा दाखिला गरेछ । पछि बैंकमा दाखिला गर्न छाड्यो । बैंकले फोन गरेपछि अहिले बैंकमा तिर्दैछु,’ नारायण भन्छन् ।
उमागौरी सहकारीबाट महिला उद्यमशीलता कर्जा लिएर ठगिएका बचतकर्ता उनीहरु मात्रै होइनन् । सहकारीले बचतकर्तालाई ऋणी बनाउँदै ठूलो रकम ठगी गरिरहेको फेला परेको छ । उमागौरीले उठिबास लगाउँदा बचतकर्ताको बिजोग भएको छ । नबिल बैंकसँगको सम्झौतापछि उमागौरीले २०७७ सालदेखि महिला उद्यमशील कर्जा दिन थालेको थियो ।
कोषध्यक्ष सम्भुप्रसाद सिंहका अनुसार सहकारीले ८५ जनालाई महिला उद्यमशीलता कर्जा लगानी गरेको छ । नेपाल सरकारले ब्याज अनुदान दिने यो योजनामा सदस्यबाट किस्ता उठाएर सहकारीले बैंकमा दाखिला गरेको छैन । सुरुमा भने बैंकमा दाखिला गरेको थियो ।
नबिल बैंकले सहकारीमार्फत ऋण लगानी गर्दा सुरुमा एकमुष्ट रकम बैंकले दिने र सहकारीले बचत संकलन गरेर किस्ता तिर्ने गरी सम्झौता भएको थियो । तर, अध्यक्ष शम्भुले सहकारीको रकम आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्च गरिदिँदा बचतकर्ता एवं ऋणीको बिल्लिबाठ भएको हो । ठगिएका बचतकर्ताहरुका अनुसार शम्भुले जग्गा र घडेरी खरिद गरेका छन् । तर, त्यो जग्गा उनको नाममा छैन ।
१८ करोड ४९ लाख कूल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । ५ हजार सेयर सदस्य रहेको सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ देखाइएको छ ।
बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष सहकारीको कार्यालय बन्द गरेर हिँडेका छन् । सहकारीमा ऋण माग्न आउने सदस्यको जग्गा धरौटी राखेर अध्यक्ष रौनियारले ४ वटा बैंक र एउटा लघुवित्तबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएका छन् ।
एमाले नेताकी पत्नी २०७८ माघसम्म संचालक
कर्सियामा २०६८ सालमा स्थापना भएको सहकारी संस्थाको अध्यक्ष शम्भुप्रसाद रौनियार एमाले मोरङ अध्यक्ष तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलका कार्यकर्ता हुन् । मोरङको रतुवामाई स्थायी घर भएका ऋषिकेश प्राय सहकारीको कार्यालयमा पुग्थे ।
सो सहकारीमा २०७२ सालदेखि ऋषिकेशकी पत्नी (श्रीमती) अञ्जला कोइराला सञ्चालक थिइन् । कार्यकर्ताको सहकारीमा ऋषिकेशले नै उनलाई जोडेका थिए । विराटनगरको सरकारी विद्यालयमा पढाउने अञ्जला सहकारीमा २०७८ माघ ५ गतेसम्म सञ्चालक सदस्य थिइन् ।
अञ्जलाले २०७८ माघ ५ गते राजीनामा दिएको देखिन्छ । त्यसको १० दिनपछि माघ १५ गतेको १० औं साधारणसभाले उनको राजीनामा स्वीकृत गरेको छ । सोही साधारणसभाले अर्की सञ्चालक दिलमाया राईको राजीनामा पनि स्वीकृत गरेको थियो ।
अञ्जलाले राजीनामा गरेको जानकारी सहकारीले २०७८ माघ १८ गते अन्य बैंकलाई गराएको थियो । त्यसबेला उनी सहकारी कार्यक्षेत्र नभएको विराटनगर महानगरपालिकाबाट सञ्चालक बसेकी थिइन् । सहकारीमा आर्थिक समस्या देखिएपछि उनले राजीनामा दिइकी हुन् ।
तर, उनी सञ्चालक समितिमा हुँदा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट लिएको करिब ३ करोड ऋण नतिरेपछि लघुवित्तले अध्यक्ष रौनियार र अञ्जलासहित संचालक समितिमा रहेकाहरुलाई कालो सूचीमा राखेको थियो ।
बुटवलस्थित आरएसडीसी लघुवित्तको ऋण नतिरेपछि राष्ट्र बैंक मातहतको कर्जा सूचना केन्द्रले २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालो सूचीमा राखेको हो । लघुवित्तले सहकारी र संचालकविरुद्ध दायर गरेको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ ।
सहकारीले सदस्यको कर्जा धितो राखेर अन्य बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको छ । त्यो ऋण नतिरेका जग्गाधनी पनि समस्यामा छन् । कोषाध्यक्ष शम्भुकुमार सिंहका अनुसार संस्थामा ठूलो ऋण माग्न आउनेको जग्गा बैैंकमा धितो राखेर सहकारीले ऋण निकालेको थियो ।
‘ठूलो ऋण लिन आउँदा सहकारीले सदस्यको धितो बैंकमा राखेर मागेको भन्दा बढी पैसा निकालेर सदस्यलाई मागेजति दिएको छ,’ उनले भने,‘ सदस्यले आफूले चलाएको ऋण तिरेपछि सहकारीले पनि चलाएको ऋण चुक्ता गरिदिन्छ ।’ सदस्यको धितो राख्दा बैंकबाट धेरै पैसा निकाल्ने र सदस्यलाई थोरै भुक्तानी दिने गरेको उनले स्वीकार गरे ।
अध्यक्ष शम्भुप्रसाद रौनियारको एकल निर्णयमा चल्ने सहकारीबाटै उनले कर्सिया बजारमा २ ठाउँमा जग्गा किनेका छन् । अहिले सहकारी भवन भएको जमिन पनि उनको निजी हो । जसलाई सहकारीले भाडा तिर्नेगरी कागज बनाइएको छ ।
‘अहिले अफिस भएको जग्गा २ कट्ठा जति छ । अफिसभन्दा अगाडि (हुलाकी मार्ग उत्तर) को घडेरी पनि उसैको हो । यही सहकारीको पैसाले विराटनगरमा २ तल्ले घर पनि बनाएको छ । गाडी फेरिफेरि चढ्थे । ऋषिकेशसँग राम्रो सम्बन्ध छ,’ उनीनिकट स्थानीयले भने ।
लेखा समिति सभापति ऋषिकेश भने उमागौरी सहकारीबाट आफू पनि ठगिएको बताउँछन् । उनले आफ्नो श्रीमतीलाई झुक्याइएको बताए । ‘मेरो मेडमलाई उसले (सम्भुप्रसाद रौनियारले) सदस्य बनाएको रहेछ । पछि थाहा पाएँ,’ उनले भने, ‘सहकारी पीडितमध्ये एउटा म पनि हो । ५ वर्ष भयो छाडेको । स्कुल पढाइरहेको मान्छेलाई भाउजू बस्दा सजिलो हुन्छ भन्दै झुक्याएर सही (हस्ताक्षर) गराए ।’
उनले ५ वर्षअघि छाडेको बताएपनि सहकारीको रेकर्डमा भने अञ्जालाले ३ वर्षअघि मात्रै छाडेको देखिन्छ । यो प्रकरणमा जोडिएपछि अञ्जला आफूलाई पनि अध्यक्ष रौनियारले ठगी गरेको बताउँछिन् । शिक्षण पेसामा रहेकी उनले अध्यक्षले आफ्नो नक्कली हस्ताक्षर प्रयोग गरेको बताइन् ।