कोशी प्रदेश : संविधान दिवसको समारोहमा देखिएनन् पूर्वमुख्यमन्त्री र नेता

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३, बिहीबार १७:२२

विराटनगर । घरघरमा दिपावली गरेर र सार्वजनिकस्थललगायतमा राष्ट्रिय झण्डा फहराएर मुलुकभर भव्य रूपमा संविधान दिवस मनाउन सरकारले आह्वान गर्यो ।

संविधान दिवसका अवसरमा बिहीबार संघ, प्रदेश र स्थानीय सरकारहरु, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र तथा सामाजिक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । खुसीयालीमा नागरिकस्तरबाट पनि कार्यक्रम गरिएको छ । ठाउँठाउँमा भव्य कार्यक्रमको आयोजना गरेर हर्षोल्लासका साथ संविधान दिवस मनाइयो ।

विदेशमा रहेका नेपालीले समेत दिवस मनाएका छन् । ३ दिनसम्म दिवस मनाउन सरकारको आह्वान छ । सरकारले प्रत्येक वर्ष संविधान जारी भएको दिन अर्थात असोज ३ गतेलाई संविधान दिवस एवं राष्ट्रिय दिवसका रूपमा मनाउने गरेको छ । संविधानलाई नेपाली जनताको संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा लिने गरिएको छ ।

‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।

तर, कोशी प्रदेश सरकारले दिवसका अवसरमा बिहीबार आह्वान गरेको भव्य समारोहमा भने प्रदेशकै पूर्वमुख्यमन्त्री र दलका नेताहरु देखिएनन् । सरकारले गरेको निमन्त्रणालाई अस्वीकार गर्दै उनीहरु अनुपस्थित भएपछि अनेक आशंका उब्जिएको छ ।

आफूलाई संविधानको रक्षक र हिमायती भनेर चर्का कुरा गरेपनि कार्यक्रम नै ‘बहिष्कार’ गरेजस्तै देखिएकाले संविधान कार्यान्वयमा उनीहरुको भूमिका प्रभावकारी छैनभन्ने प्रष्ट हुने विश्लेषकहरु बताउँछन् । संविधान दिवसको विशेष उत्सवमा सहभागी नभएर उनीहरुले संविधानको अपमान त गरिरहेका छैनन् ? भन्ने प्रश्नसमेत उब्जिएको छ ।

कार्यक्रममा पूर्वमुख्यमन्त्रीहरु उद्धव थापा, केदार कार्की र राजेन्द्रकुमार राई उपस्थित थिएनन् । थापा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हुन् । राई नेकपा (एकीकृत समाजवादी)को दलका नेता र कार्की कांग्रेसका प्रदेशसभा सदस्य हुन् ।

समारोहमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता एवं प्रदेशका पूर्वमन्त्री इन्द्रबहादुर आङबो पनि गएनन् । उनीहरुले संविधान दिवसको कार्यक्रम ‘बहिष्कार’ गरेजस्तै देखियो ।

कांग्रेस र नेकपा (एमाले) अहिले सत्तारुढ दल हुन् । कांग्रेस–एमाले गठबन्धनको सरकार भए पनि सरकारले आयोजना गरेको कार्यक्रममा कांग्रेसकै नेता एवं पूर्वमुख्यमन्त्री पुगेनन् । माओवादी र एकीकृत समाजवादी सरकारमा छैनन् ।

पूर्वमुख्यमन्त्री एवं कांग्रेस दलका नेता उद्धव थापा गठबन्धनको बाध्यताले मात्रै एमाले नेतृत्वको सरकारलाई समर्थन गरिरहेका छन् । किनभने यसअघि संविधान मिचेर मुख्यमन्त्री हुँदा एमाले प्रदेश संसदीय दलका नेता रहेका हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले थापालाई मुख्यमन्त्रीबाट बर्खास्त गरेको थियो । थापामा त्यो ‘इगो’ रहिरहेको बताइन्छ । तर, बाहिर खुलेर विरोध गर्दैनन् ।

केदार कार्कीले पनि हिक्मतकै कारण सत्ताको नेतृत्व गुमाएका थिए । पार्टीबाट विद्रोह गरेपछि एमालेकै प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदारलाई विस्थापित गर्दै माओवादीका सांसदको साथ लिएर हिक्मत मुख्यमन्त्री बनेका हुन् ।

पूर्वमुख्यमन्त्री राई सधैं सरकारको विरोधमा छन् । उनले एमाले नेतृत्वको सरकारको तीव्र आलोचना गरिरहेका हुन्छन् । हिक्मतसँग मुख्यमन्त्री बन्न नदिएको ‘इगो’ आङ्बोको छ । कांग्रेससहितको तत्कालीन सत्तारुढ गठबन्धनले आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने निर्णय गर्दा हिक्मत बाधक बनिदिए । एमालेका सांसदले केदारलाई समर्थन गर्दा मुख्यमन्त्री बन्ने आङ्बोको सपना तुहियो ।

यस्तै यावत कारण र राजनीतिक ‘इगो’का कारण प्रदेशका पूर्वमुख्यमन्त्री एवं दलका नेताहरु प्रदेश सरकारले आयोजना गरेका कार्यक्रममा सहभागी नभएको हुनसक्ने राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए । तर, संविधान दिवसकै कार्यक्रममा भने अनुपस्थित हुनुले अनेक आशंका उब्जाएको उनको भनाइ छ ।

‘संविधान दिवस मनाउनेभन्दा पनि मुख्यमन्त्रीमाथि असन्तुष्ट भएर उपस्थित नभएको हुनसक्छ,’ पोखरेलले भने, ‘संविधान दिवसको कार्यक्रमलाई राजनीतिक ‘इगो’का रूपमा लिनु गलत हो ।’ कारण जेजस्तो भएपनि पूर्वमुख्यमन्त्री र राजनीतिक दलका व्यक्तिहरु समारोहमा उपस्थित नहुनुले बाहिर गतिलो सन्देश नदिने उनको भनाइ छ ।

पूर्वमुख्यमन्त्री एवं कांग्रेस दलका नेता थापाले ढिलो निम्ता पाएका कारण आउन नसकेको बताए । ‘कार्यक्रमका बारेमा हिजो (बुधबार) मात्रै थाहा भयो । मलाई २ दिनअघि नै धरानबाट एउटा कार्यक्रमको निम्तो आएको थियो,’ उनले भने, ‘पूर्वनिर्धारित कार्यक्रम अनुसार नै धरानको कार्यक्रममा गएँ । संविधान दिवसको कार्यक्रममा आउन पाइन ।’

उद्धव थापा

नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधान महिला, आदिवासी, जनजाति, मधेसी, अल्पसंख्यक मैत्री रहेको दाबी थापाको भनाइ छ । संविधान विकास र समृद्धिको मार्ग दर्शक भएपनि कार्यान्वयन पक्ष फितलो रहेको उनले बताए ।

अर्का पूर्वमुख्यमन्त्री केदार कार्की पनि अनुपस्थित रहे । अर्कैतिर कार्यक्रम परेकाले संविधान दिवसको समारोहमा पुग्न नपाएको उनको सचिवालयले जनाएको छ ।

केदार कार्की

पूर्वमुख्यमन्त्री राईले भने व्यवहारिक कारणले आफू समारोहमा उपस्थित हुन नपाएको बताए । आफू संविधान जारी गर्ने बेलामा विद्यार्थी नेता भएको र गणतन्त्र ल्याउन सडक आन्दोलनलगायतका कार्यक्रम गरेको स्मरण गर्दै उनले भने, ‘गाउँघरमा गणतन्त्र ल्याउने हिरो भन्थे मलाई ।’

राईका अनुसार संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल भन्न पाउँदा आफ्ना सपना पूरा भएजस्तो लागेको थियो । ‘पछिल्लो समयमा मुलुकले फाइदा लिन पाएन,’ उनी भन्छन्, ‘नेताहरुले जनताको लागि नभइकन आफ्ना भलाइका लागि मात्र सोच्ने गरेका छन् ।’

राजेन्द्रकुमार राई

संघीयतालाई बलियो बनाउन कतिपय नेताहरुले काम गरेका छन् भने कतिपयले जानेरै संघीयता मास्न लागेको राईले बताए । ‘संविधान आउँदा सुरुमा जुन उत्साह र उमंग थियो, त्यो मर्दै गएको छ,’ उनले भने । राईका अनुसार ठूला दलका नेताहरु संविधान संशोधन गर्ने भनेर नकारात्मक दिशातर्फ अघि बढिरहेका छन् ।

माओवादी दलका नेता आङ्बोले संविधान दिवसको कार्यक्रमको जानकारी आफूलाई ढिलो गरी आएको र अर्को कार्यक्रममा अगाडि नै निम्ता रहेकाले जान नपाएको बताए । ‘अर्को कार्यक्रममा प्रमुख अतिथि थिएँ । सरकारले गरेको संविधान दिवसको कार्यक्रममा आउन पाइन,’ उनले भने ।

इन्द्रबहादुर आङ्बो

आङ्बोले संविधान जारी हुनु उपलब्धिपूर्ण भएको बताए । संविधान जारी गर्दा प्रत्यक्ष राष्ट्रपति, पूर्ण समानुपातिक संसद, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, पहिचानसहितको संघीयता लगायतका एजेन्डामा आफूहरुले फरक मत राखेको भएपनि नामकरणका विषयमा भने कोशी प्रदेशको पक्षमा मतदान गरेको उननको भनाइ छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले संविधान दिवसको कार्यक्रमको निम्तो ३/४ दिनअघि नै पठाइएको बताए । ‘सबै जनालाई प्रदेशसभा सचिवालयमार्फत ३/४ दिनअघि नै निम्ता पठाइएको थियो । उहाँहरु किन आउनु भएनभन्ने चैं थाहा भएन,’ थापाले भने ।

संस्थापक मुख्यमन्त्रीलाई गरिएन निम्ता
कोशी प्रदेश सरकारले संविधान दिवस मनाइरहँदा प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले नेता शेरधन राईलाई भने बिर्सिएको छ । उनलाई संविधान दिवसको कार्यक्रमको निम्ता नगरिएको हो ।

राई एमालेको कार्यक्रममा सहभागी हुन विराटनगर नै आएका थिए । तर, निम्ता नभएकै कारण उनी संविधान दिवसको कार्यक्रममा सहभागी भएनन् । राईनिकट स्रोतले भने सबै जनालाई बोलाउन साध्य नभएकैले संस्थापक मुख्यमन्त्रीलाई निम्ता नगरिएको हुनसक्ने बताएको छ ।

शेरधन राई

मन्त्रालयका निमित्त सचिव थापाले संस्थापक मुख्यमन्त्री राईलाई निम्ता गर्न बिर्सिएको बताए । ‘कामको चाप धेरै भएकाले निम्ता गर्न नै बिर्सिएछौं,’ उनले भने, ‘संस्थापक मुख्यमन्त्रीलाई निम्ता गर्न पाएको भए राम्रै हुने थियो ।’

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.