
विराटनगर । मदन भण्डारी फाउण्डेसन कोशी प्रदेशले आयोजना गरेको दुई दिने विचार गोष्ठी शुक्रबार विराटनगर सुरु हुँदैछ ।
सुशासन र समृद्धिका लागि ‘जबजको मार्ग दर्शनमा सुशासन र समृद्धि तथा अवसर र चुनौती’ विषयक गोष्ठी शुक्रबार र शनिबार हुने फाउण्डेसनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन गर्ने भएकी छन् । कोभिडको महामारी, भूमण्डलीय तापक्रमको उच्च वृद्धि, अदेखा अनियमितता तथा भ्रष्टचार र तिनीहरूको प्रभाव–परिणामले सबैलाई असर गरिरहेको छ ।
त्यसबाट उत्पन्न आंशिक आर्थिक मन्दीबाट कोशी प्रदेश पनि समस्यामा गुज्रिरहेको फाउण्डेसनले उल्लेख गरेको छ ।
समस्या छन् भनेर हामी चुप लागेर बस्ने नहुने भन्दै सचेत नागरिकहरूले उपायहरूको खोजी गरेर कार्यान्वयन गर्नु गराउनु दायित्व रहेको फाउण्डेसन जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘जनताको बहुदलीय जनवाद’ नेपाली माटोको मौलिक र अग्रगामी मार्गदर्शनको व्यवहारिक उपयोगबाट यो देशमा सुशासन र समृद्धि स्थापित गर्न चाहेको विज्ञिप्तीमा भनिएको छ ।
गोष्ठीमा नेकपा एमालेका वरिष्ठ वैचारिक नेता तथा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत हुने र अन्तरक्रियाबाट निकालिएका निष्कर्षलाई कार्यान्वयन गर्ने निकायलाई प्रदान गरिने बताइएको छ ।

























