
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश कार्य समितिको शिक्षा, विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी सुन्दरहरैँचा नगरपालिकाका पूर्वप्रमुख शिवप्रसाद ढकाललाई दिइएको छ ।
कोशी प्रदेश कार्य समितिको आइतबार बसेको बैठकले ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि विभागको संयोजकको जिम्मेवारी दिएको हो ।
उनी यसअघि नेपाली काँग्रेस मोरङ जिल्लाका सहसचिव र दुई कार्यकाल सदस्य रहेका थिए । उनी सुन्दरहरैँचा नगरपालिकाका प्रमुख पनि भइसकेका छन् ।
त्यसैगरी, झापाका उत्तमबहादुर चौलागाईं ट्रेड युनियन तथा श्रमिक विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।
यसअघि उनी तत्कालीन बैगुनधुरा गाविसको गाविस अध्यक्ष, नेपाली काँग्रेस झापा जिल्ला किसान संघको जिल्ला उपसभापति र कांग्रेस झापा जिल्लाको दुई कार्यकाल सदस्य भइसकेका छन् ।
कार्य समिति पदाधिकारी तथा सदस्यलाई मात्र संयोजकको जिम्मेवारी दिइने नेपाली काँग्रेस कोशी प्रदेश कार्यालयले जनाएको छ ।
२७ वटा विभाग रहेको कोशी प्रदेशमा अब ५ वटा विभागको संयोजक तथा सदस्यहरु चयन गर्न बाँकी रहेका छन् ।
बाँकी रहेका विभागहरुमा संगठन विभाग, भातृ संघसंस्था समन्वय विभाग, भाषा, साहित्य, कला तथा संस्कृति विभाग, अभिलेख अनुगमन तथा मूल्यांकन विभागको संयोजक तथा सदस्यहरु चयन गर्न बाँकी रहेको छ ।

























