
विराटनगर । कोशी प्रदेश सरकारले ६ सदस्यीय कार्यदल बनाएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले गठन गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा एमालेबाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक रहेका छन् ।
कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ रहेका छन् । कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको छ ।
बैठकमा मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले उपनेता तिलकुमार मेयाङ्बोलगायत उपस्थित थिए ।

























