पक्राउको त्रासमा रवि लामिछाने

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ७, सोमबार १२:३६

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको प्रसंगले अहिले माहोल गर्माएको छ ।

रवि प्रहरीले कतिबेला पक्राउ गर्ने हो भन्ने त्रासमा छन् । उनीसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति रविलाई पक्राउ गर्ने तयारीमा सरकार छ ।

उनका व्यावसायिक साझेदार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका छन् । उनलाई पोखरा लगिएको छ । रविलाई पनि पक्राउ गर्ने सरकारको तयारी छ । सरकारीको रकम अपचलन गरेको प्रकरणमा मुछिएका रवि पक्राउ पर्नबाट जोगिन अनेक उपायको खोजीमा छन् ।

सरकारले पक्राउ गर्न लागेको जानकारी पाएलगत्तै आइतबार साँझ पनि रविसहित पार्टीका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएका थिए । रविलाई पक्राउ गर्न अवरोध गर्ने कार्यकर्ताको योजना छ ।

रविले आइतबार साँझ नै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै शनिबार चीन पुगेका रास्वपा सांसद तथा नेताहरूलाई पनि स्वदेश फिर्ता बोलाइएको छ । आफूलाई पक्राउ गरिए प्रतिवाद गर्ने उद्घोष रविले गरेका छन् ।

यसैबीच, सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरूले रविलाई पक्राउ गर्न माग गर्दै पोखरामा प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की बाहिर उनीहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका हुन् । पीडितहरूले गोर्खा मिडियामार्फत सहकारीको रकम दुरुपयोग गरेको भन्दै रविलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्न माग गरेका छन् ।

अर्कोतर्फ, रास्वपाका नेता तथा कार्यकर्ताहरूले पनि रविको पक्षमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पनि प्रशासन कार्यालय नजिकै भेला भई पक्राउ नगर्न चेतावनी दिएर प्रदर्शन गरिरहेका हुन् । जिल्ला प्रशासन कार्यालयको गेटनजिकै दुवै पक्षका प्रदर्शनकारीहरू एकैसाथ नाराबाजी गरिरहेका छन् । पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.