
विराटनगर । बहिरा तथा अपांगता भएकाहरुले सांकेतिक भाषालाई सरकारी निकायमा समेत प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।
विराटनगरमा सोमबार सांकेतिक भाषाहरुको अन्र्तराष्ट्रिय दिवस तथा बहिरा सप्ताह मनाउने क्रममा विराट बहिरा माविकी प्रधानाध्यापक मीनु अधिकारीले सरकारी कार्यालयमा सांकेतिक भाषाको प्रयोग सहज रुपमा हुन नसक्दा स्वास्थ्य उपचारदेखि अनेक समस्या हुने गरेको बताइन् । सप्ताह मनाउने क्रममा निकालिएको प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै प्रधानाध्यापक अधिकारीले सांकेतिक भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्नेमा जोड दिइन् ।
स्वास्थ्य उपचारका लागि अस्पताल पुग्दासमेत सेवा लिन समस्या हुने गरेको बताउँदै उनले भनिन्, ‘सांकेतिक भाषालाई अस्पतालदेखि सरकारी कार्यालयमा प्रयोग गर्ने अवस्था बनाउनुपर्छ । सामान्यतयाः हामीलाई सरकारी कार्यालयमा फरक दृष्टिकोणबाट हेरिने, काम गर्न झमेला लगाउनेलगायतका विषयहरुमा गम्भीर हुन आवश्यक छ । हाम्रो समस्या हलका लागि सरकारी कार्यालय, अस्पतालमा कम्तीमा सांकेतिक भाषा बुझ्ने व्यवस्था गरिदिँदा सहज हुने थियो ।’
पछिल्लो राष्ट्रिय जनगणनामा विराटनगरमा सांकेतिक भाषा प्रयोगकर्ताको संख्या ४ हजार ३ सय रहेको छ । जसमा करिब ६ सय जना बहिरा रहेका छन् । यद्यपि, विराटनगर महानगरपालिकाले उपलब्ध गराएको स्वरोजगार कार्यक्रममा समेत पछिल्लोपटक कोशी बहिरा संघ विराटनगरले सहभागिता जनाएको छैन ।
राष्ट्रिय अपांग महासंघ कोशी प्रदेशका व्यवस्थापक सरोज नेपालीका अनुसार महानगरले कामको वातावरण बनाइदिदाँसमेत मानिसहरुको हेपाहा प्रवृत्तिका कारण समस्या भइरहेको छ । उनले भने, ‘महानगरले पार्किङ शुल्क संकलनको जिम्मा बहिरा संघलाई दिएका छ । अहिलेपनि गर्नु भनेको छ । तर, त्यस काममा मानिसहरुले सम्मान दिएनन् । बहिरा भन्यो, पार्किङ शुल्क नतिर्यो, जथाभावी भन्दै झगडा गर्छन् । आत्मसम्मानमा ठेस पुगेकाले काम गर्न गाह्रो भयो ।’























