
विराटनगर । कोशी प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमको नाम परिवर्तन गरेको छ ।
यो कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक वर्ष संचालन गर्दै आएको थियो । ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमको नाम परिवर्तन गरेर यस वर्षदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ बनाइएको छ । अबदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ नामबाट कार्यक्रम संचालन गरिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको कोशीको मन्त्रिपरिषद् बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार’ कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढंगले कार्यक्रम संचालन गर्न लागेको हो । २०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरुबाट यो कार्यक्रम प्रशारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रशारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रशारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ ।
यसले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रशारण संस्थाहरुले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रशारण गर्न पाउनु्पर्ने माग गर्दै आएका थिए ।
यस्तै, मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनीक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।
त्यस्तै, बैठकले खानेपानी सिचाईं तथा उर्जा मन्त्रालयअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिचाईं आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजनाअन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिचाईं आयोजनाहरु संचालन हुने छन् ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले खानेपानी सिचाईं तथा उर्जा मन्त्रालयअन्तर्गतकै जलवायु अनुकुलित वृहद खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

























