कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट र उपसभामुख सृजना दनुवार ।विराटनगर । कोशी प्रदेश सरकारले सभामुख र उपसभामुखका लागि इन्धन सुविधा थप गरेको छ ।
सरकारले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि मासिक ५० लिटर इन्धन सुविधा थप गरेको हो । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा सभामुखले मासिक १ सय ५० र उपसभामुखले १ सय २५ लिटर इन्धन पाउने प्रावधान थियो ।
अनुसूची संशोधनपछि अब सभामुखले २ सय २५ लिटर र उपभामुखले १ सय ७५ लिटर इन्धन सुविधा प्राप्त गर्नेछन् । सुविधा थप गर्ने विषयमा बाहिर छलफल भएन ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २० का आधारमा मन्त्रिपरिषद् बैठकले सुविधा थप गरेको हो । दफा २० मा ‘प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूची हेरफेर गर्न सक्ने’ प्रावधान छ ।
सभामुख र उपसभामुखका लागि इन्धन सुविधा थप्ने निर्णय भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो । त्यसलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मिति राखेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट सभामुख र नेकपा (एमाले)की सृजना दनुवार उपसभामुख छन् । सभामुखले मासिक ६२ हजार ५ सय ४० र उपसभामुखले ५९ हजार पारिश्रमिक पाउँछन् ।
सभामुखले २ जना स्वकीय सचिव, १ जना सूचना प्रविधि, २ जना कार्यालय सहयोगी र १ जना हलुका सवारी चालक गरी ६ जना सहयोगी राख्न पाउँछन् । त्यस्तै, उपसभामुखले सचिवालयमा ३ जनालाई राख्न पाउने व्यवस्था छ ।


























