
विराटनगर । मोरङको रंगेलीमा घाँस काटेर खेतबाट घरतर्फ फर्कदै गर्दा चट्याङले लागेर मंगलबार दिउँसो १ जना महिलाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–९ की ४५ वर्षीया साक्रो हेमरनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार दिउँसो १२ः३० बजेतिर परेको चट्याङले लागेर हेमरनको घटनास्थलमै मृत्यु भएको हो ।
धानखेतबाट घाँस काटेर फर्किने क्रममा चट्याङले लागेर मृत्यु भएकी महिलाको शव क्षतविक्षत अवस्थामा फेला परेको बस्नेतले बताए । उनका अनुसार घाँसको मुठो बोकेर घामबाट छलिनका लागि छाता ओढेर घरतिर फर्किदै गरेको अवस्थामा हेमरनलाई अचानक चट्याङले लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘शव क्षतविक्षत र टाउकाको बायाँ भागको कपाल जलेको थियो । गर्मी छल्न ओढेको छाता टुक्राटुक्रा भएको छ । छाताको डन्ठी पग्लिएको अवस्थामा भेटियो । मृतकको घरबाट घटनास्थल करिब २ किलोमिटर पश्चिममा पर्छ,’ बस्नेतले भने । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको छ ।
त्यस्तै, चट्याङले लागेर १ जना युवती घाइते भएकी छन् । २२ वर्षीया विनिता हेमरन घाइते भएको डीएसपी बस्नेतले बताए । उनलाई पनि घाँस काटेर घरतर्फ फर्किने क्रममा चट्याङको झिल्काले लागेको प्रहरीले जनाएको छ ।
कानबाट रगत बगिरहेको अवस्थामा उद्धार गरेर उनलाई प्रहरीले उपचारका लागि रंगेली अस्पताल पठाएको छ । अवस्था मध्यम रहेको जानकारी बस्नेतले दिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
चट्याङबाट जोगिनलाई सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ । ‘चट्याङले मानवीय क्षति गरिरहेको छ,’ बस्नेत भन्छन्, ‘त्यसबाट बच्न सतर्कता अपनाउनुपर्छ ।’
चट्याङ परेका बेला हिँडडुल नगर्न, खुला ठाउँ, रुख तथा बिजुलीको पोल र तारमुनि नबस्न प्रहरीले सबैमा अनुरोध गरेको हो । चट्याङ परेका बेला घरभित्रै बस्दा सुरक्षित होइने प्रहरीले जनाएको छ ।























