
काठमाडौं : पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आज (बुधबार) फैसला सुनाउने तयारी गरेको छ ।
सापकोटाविरुद्ध अपहरण तथा व्यक्ति हत्या सम्बन्धी मुद्दा सर्वोच्चमा छ । सर्वोच्चको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि पेशी तोकिएको छ।
यसअघि सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने मिति पटकपटक तोकिए पनि संवैधानिक इजलासले निसुको मिति सार्दै आएको थियो। काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने छ । संवैधानिक इजालसमा सापकोटाविरुद्ध ३ वटा मुद्दा छन्।
अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । विक्रम संवत २०६२ साल वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको २ महिनापछि शव फेला परेको थियो।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । पुनरावेदन हुँदै मुद्दा सर्वोच्चमा पुगेको हो ।
त्यसअघि २०७२ चैत २२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दाको छिनोफानो संवैधानिक इजलासबाट हुने आदेश गरेको थियो। उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले लामा हत्याको घटनामा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश गरेको थियो।

























