
कठमाडौं । प्रहरी प्रधान कार्यालयले हाल सम्पर्कविहीन भएका प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ ।
विभिन्न क्षेत्रमा कार्यरत २४ जना प्रहरी सम्पर्कविहीन बनेको भन्दै कार्यालयले सूचना जारी गरेर सम्पर्कमा आउन भनेको हो । प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको कानुन शाखाले आज (बिहीबार) सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ, ‘आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनू ।’
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
सम्पर्कविहीन हुनेमा जुनियर प्रहरी अधिकृतदेखि सहायक हवल्दार र जवानसम्म छन् । जुनियर प्रहरी अधिकृत, असइ (प्रहरी सहायक निरीक्षक) ३, सहायक हवल्दार २ जना र अरु जावान छन् ।
असइहरु अर्जुन विक, शिव श्रेष्ठ र अजय बुढाथोकी तथा सहायक हवल्दारहरु रन्जिता गुरुङ र अनिलकुमार यादव छन् । अरु १९ जना प्रहरी जवानहरु समेत सम्पर्कविहीन छन् ।
यी हुन् हाल सम्पर्कविहीन रहेका प्रहरीहरु, यस्तो छ सूचना
























