
विराटनगर । कोशी प्रदेशको योजना आयोगका २ जना सदस्यले राजीनामा दिएका छन् ।
आयोगको सदस्यमा यसअघि नियुक्त भएका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका हुन् । दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ जेठ २८ गतेको निर्णयपछि बराल र न्यौपानेले आयोगको सदस्यमा नियुक्ति पाएका थिए । राजनीतिक नियुक्ति लिएका उनीहरुले माओवादी सत्ता बाहिर पुगेपछि राजीनामा दिएका छन् ।
प्रदेश योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई २ जनाले नै संयुक्त रूपमा बुधबार राजीनामा बुझाएका हुन् । उनीहरुको राजीनामासँगै अब सत्तारुढ नेपाली कांग्रेसले नाम दिएपछि आयोगका नयाँ सदस्य नियुक्त हुने छन् ।
न्यौपानेले कसैको दबाब र प्रभावमा नभइकन नैतिकताका आधारमा राजीनामा दिएको बताइन् । ‘हामीलाई जुन पार्टीले सिफारिस गरेर पठायो, त्यो नै सरकारमा नभएको र सरकारलाई दिएको समर्थनसमेत पार्टीले फिर्ता लिइसकेका कारण नैतिकताका आधारमा हामीले राजीनामा दिएका हौं,’ उनले भनिन् ।
पार्टी नै सरकारमा नभएपछि पदमा बस्न उपयुक्त नठानेको उनको भनाइ छ । ‘हाम्रो राजनीतिक नियुक्ति हो । पार्टी सरकारबाट बाहिरिएपछि हामीले अगाडिदेखि नै पदमा धेरै दिन बस्न हुँदैन भनेर राजीनामा दिने मनस्थिति बनाएका थियौं,’ न्यौपाने भन्छिन्, ‘कसैको दबाब र प्रभावमा हैन । स्वेच्छाले राजीनामा दियौं ।’

























