
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ ।
आयोगले दल दर्तादेखि निर्वाचन सम्पन्नसम्मका कार्यक्रम तय गरी सार्वजनिक गरेको हो ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले आजदेखि दल दर्ताको प्रक्रिया सुरु गरेको छ ।
दर्ता कायम रहेका दललाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गते कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्न निर्वाचन आयोगले भनेको छ ।
दल दर्तादेखि अन्य निर्वाचनसम्बन्धी तालिका सार्वजनिक भएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने प्रवक्ता सापकोटाले बताए ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
तालिकाअनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।
मंसिर १६ गते ३९ रिक्त पदमा उपनिर्वाचन हुनेछ । जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडाध्यक्ष ९ रहेका छन् ।
यस्तै, नगरपालिका प्रमुख १, उपप्रमुख १ र नगर वडाध्यक्ष २१ का लागि निर्वाचन हुन लागेको हो ।

























