चालकलाई ट्राफिकको आग्रह –‘सवारी चलाउँदा सावधानी अपनाऔं’

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार १८:२१

विराटनगर । निरन्तरको वर्षासँगै सडकको यात्रा जोखिमपूर्ण बनेको छ । वर्षाका कारण सवारी आवागमनमा समस्या भइरहेको छ ।

पानी जमेका कारण खाल्डाखुल्डीमा परेर सवारी दुर्घटना हुने जोखिम पनि बढेको छ । वर्षाले सडकहरु चिप्ला भएका छन् । वर्षातको समयमा सडक प्रयोगकर्ताले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालकलाई आग्रह गरेको छ । सवारी चालक तथा पैदलयात्रीलाई समेत सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो ।

चालकलाई वर्षातको समयमा सवारी चलाउँदा अनिवार्य ‘वाइपर’को प्रयोग गर्न, अगाडिको सवारीसाधनसँगको दूरी बढाउन र सामान्य अवस्थामा भन्दा कम गतिमा सवारीसाधन चलाउन आग्रह गरिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार पानीका कारण सडक चिप्लो हुने भएकाले ‘ब्रेक’ लगाउँदा सावधानी अपनाउनुपर्छ ।

‘पानी, हावा तथा हुस्सुका कारण दृश्यावलोकन कमजोर हुने भएकाले पैदल यात्री, ‘डीभाईडर’, ‘जेब्रा क्रसिङ’ र सडक बत्ती देख्न कठिन हुनसक्छ,’ लम्साल भन्छन्, ‘सडकमा पानी जमेको स्थानमा खाल्डाखुल्डी हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन अपनाउनुपर्छ ।’ वर्षातका समयमा पैदलयात्रीले जथाभावी बाटो काट्न नहुने र सुरक्षाका दृष्टिकोणले दायाँबायाँ राम्ररी हेरेर सुरक्षित स्थानबाट मात्रै बाटो काट्नुपर्ने उनको भनाइ छ ।

सबै पक्षले सावधानी अपनाउँदा मात्रै दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने र मानवीय एवं भौतिक क्षति हुनबाट जोगिने इन्स्पेक्टर लम्साल बताउँछन् । ‘आफू सुरक्षित हुनुपर्छ र अरुको सुरक्षामा पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन् । यात्रालाई भरपर्दो र सुरक्षित बनाउन सावधानी अपनाउनु सबैभन्दा उत्तम हुने लम्सालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.