
विराटनगर । निरन्तर वर्षापछिको बाढी र डुबानका कारण शुक्रबार साँझ मोरङमा ४० परिवार विस्थापित भएका छन् ।
मोरङको रंगेलीमा १६ र धनपालथानमा २४ परिवार विस्थापित भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार साँझ ५ बजेतिर विस्थापित भएका हुन् ।
रंगेली–२ स्थित कोचेनी खोलामा पानीको बहाव उच्च भएर बाढी वस्तीमा पसेको थियो । खोला बस्तीमा परेर घरघरमा पानी छिर्न थालेसँगै असुरक्षित भएर स्थानीय घरबार छाड्न बाध्य भएको डीएसपी जोशीले बताए ।

विस्थापित भएकालाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली र विभिन्न युनिटबाट परिचालित प्रहरीले उद्धार गरेका थिए । उद्धार गरेर बाढीपीडितलाई सरस्वती माध्यमिक विद्यालयमा राखिएको जानकारी जोशीले दिए ।
त्यस्तै, धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि स्थानीय विस्थापित भएको प्रहरीले जनाएको छ ।
बाढी र डुबानबाट पीडित बनेकालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको डीएसपी जोशीको भनाइ छ । पीडितहरुले आफ्ना सरसामान र चौपायासहित घर छाडेका छन् । डुबानका कारण केही घरमा क्षतिसमेत पुगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । विराटनगरका अधिकांश स्थान डुबानमा परेका छन् । यद्यपि, विराटनगरमा सर्वसाधारण भने विस्थापित नभएको प्रहरीले जनाएको छ ।
विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन् । दुवै खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिर्ने सम्भावना बढेको प्रहरीले जनाएको छ । जसका कारण ५ सयभन्दा बढी घरहरु डुबानको जोखिममा परेका छन् ।
वर्षासँगै सडक जलमग्न हुँदा कोशी लोकमार्गमा सवारीसाधन आवागमनमा समस्या भएको थियो । निरन्तरको वर्षासँगै विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन् । विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन । जसका कारण सामान्य वर्षामै डुबान हुन्छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बाढी एवं डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी दिए । ‘ठाउँठाउँमा पीडितको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘जोखिमयुक्त स्थान र सम्भावित जोखिमलाई ध्यानमा राखेर उद्धारको आवश्यक प्रबन्ध मिलाइएको छ ।’
जोखिमयुक्त ठाउँहरूको निरीक्षण गरेर सर्वसाधारणलाई सचेत गराइएको एसपी कार्कीले बताए । विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले त्यही अनुसारको तयारी गरिएको कार्कीले बताए । ‘सबै निकायबीच एकआपसमा समन्वय गरेर काम भइरहेको छ,’ कार्की भन्छन्, ‘विपद्मा उद्धार र सूचना संकलनलाई पनि प्रभावकारी बनाइने छ ।’
उनका अनुसार मोरङका विभिन्न खोलामा जलसतह बढेको छ । एसपी कार्कीले खोला तथा नदी र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए ।
बिहीबार साँझदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर रोकिएन । वर्षाका कारण विराटनगरलगायत विभिन्न स्थानका विद्यालयमा पठनपाठनसमेत प्रभावित बन्यो ।























