प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्री राईले दिए ५ रोपनी ३ आना जग्गा

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १३:१३

भोजपुर । सम्पर्कविहीन भएको ३५ वर्षपछि परिवारको सम्पर्कमा पुगेका प्रकाश तामाङलाई कोशी प्रदेशका संस्थापक एवं पूर्वमुख्यमन्त्री शेरधन राईले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

तामाङले आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने बताएका थिए । उनले नेकपा (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका राईसँगको भेटमा आफू भोजपुरमा रहेका बुवाआमासँगै बस्ने बताएका थिए । तामाङको परिवार भोजपुरको षडानन्द नगरपालिका–१० थाप्लेगाउँमा छ ।

उनका बुवाआमा अर्काकै जमिन जोतभोग गरेर बस्थे । तामाङले २५ दिनअघि पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी जाम्मु इन शेर्पाँसगको भेटमा आफूलाई जमिनको आवश्यकता रहेको बताएका थिए ।

त्यतिबेला राई दम्पतीले १ लाख रूपैयाँ नगद सहयोग गर्दै तामाङलाई आवश्यकता अनुरुपको सहयोग गर्ने आश्वासन दिए । राईले गरेको प्रतिबद्धता अनुसार तामाङले ५ रोपनी ३ आना जग्गा पाएका छन्।

पूर्वमुख्यमन्त्री राईकी पत्नी शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमार्फत जमिनको लिखत पास गरिएको छ । त्यो जमिन राईकी पत्नी शेर्पाको नाममा थियो ।

मालपोतबाट जमिन पास भएपछि तामाङको घरमा भेला भएर लालपूर्जालगायत हस्तान्तरण गरिएको छ । पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले तामाङलाई लालपूर्जासहित १ थान हाते ट्याक्टर र १ हल गोरु हस्तान्तरण गरेका छन् ।

राईले आफूले सकेको सहयोग गरेको उल्लेख गर्दै सारा युवा विदेश पलायन भइरहेको बेला आफ्नै भूमिमा केही गर्ने सोच राख्नु सकारात्मक भएको बताए । उनले यस्तो विकट ठाँउमा कृषि पेस अंगालेर वृद्ध बुवाआमालाई पाल्ने तामाङको कुराले आफूलाई प्रभावित पारेको उल्लेख गरे ।

सामाग्री हस्तान्रण गर्ने क्रममा राईकी पत्नी शेर्पाले आफू सामाजिक कार्यमा सक्रिय रहेको जनाउँदै उपलब्ध गराएका सामाग्रीको सदुपयोग भए प्रकाश तामाङ र उनको परिवारको आर्थिक अवस्थामा परिवर्तन हुनसक्ने बताइन् ।

जमिन, ट्याक्टर र गोरु पाएपछि हर्षित देखिएका तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध अवस्थाका बुवाआमालाई पालेर बस्ने बताए । सो अवसरमा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, समाजसेवी भूपाल राईलगायतले यस खालको सामाजिक कार्यले समाजमा सकारात्मक परिवर्तन हुने बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.