विराटनगर । काठमाडौं घर भइ झापाको दमक नगरपालिका–१ मा डेरा बस्ने २४ वर्षीया शर्मीला लिम्बू (मगर) र २ वर्षीया छोरी आरुसी मगरलाई गत असार १४ गते दिउँसो सीटी सफारीले ठक्कर दियो ।
श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सफारीले पैदलयात्रामा रहेका आमा–छोरीलाई दमक–१ बरगाछीमा ठक्कर दिँदा नाबालिकाको मृत्यु भयो । शर्मीला घाइते भइन् । पैदलयात्राका क्रममा अचानक बाटो काट्न खोज्दा शर्मीला नाबालिका छोरीसहित दुर्घटनामा परेकी थिइन् । सफारी चालक र पैदलयात्री दुवैको गल्तीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा २०८० फागुन २६ गते साँझ पैदलयात्री वृद्धलाई मोटरसाइकलले ठक्कर दियो । बेलबारीबाट तीव्र गतिमा इटहरीतर्फ जाँदै गरेको को ३८ प ६५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ८१ वर्षीय धनबहादुर पौडेल गम्भीर घाइते भए ।
दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गर्दा दुर्घटनामा परेका पौडेलको उपचारका क्रममा चैत १ गते मृत्यु भयो । मोटरसाइकल चालक लेटाङ नगरपालिका–९ का ३७ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर प्रहरीले सवारी ज्यान मुद्दा चलायो । मोटरसाइकल चालक र पैदलयात्रीको लापर्बाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कोशी राजमार्गअन्तर्गत सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा २०८० माघ २७ गते साँझ कारले पैदलयात्रीलाई ठक्कर दियो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ५३०७ नम्बरको कारले सोनापुरमा बस्दै आएका ५४ वर्षीय बालकृष्ण तामाङलाई बाटो क्रस गर्दै गर्दा ठक्कर दिएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति विराट नर्सिङ होममा मृत्यु भयो । प्रहरीले दुर्घटनालगत्तै कार चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का ४२ वर्षीय मनिराज अधिकारीलाई नियन्त्रणमा लियो । पैदलयात्रीले बिचार नपुर्याइकन अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुल्यो ।
मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३ मा २०८० फागुन १९ गते साँझ प्रदेश २–०१–००२ प २०२८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दियो । गाईघाटबाट बेलटारतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५४ वर्षीय विदुर रेग्मी गम्भीर र मोटरसाइकलको पछाडि सवार चौदण्डीगढी नगरपालिका–६ का २४ वर्षीय अरविन दाहाल सामान्य घाइते भए ।
रेग्मीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भयो । मोटरसाइकल चालक चौदण्डीगढी–६ का २४ वर्षीय अमदकुमार दाहाललाई प्रहरीले नियन्त्रणमा लियो । अनुसन्धानबाट मोटरसाइकल चालक र पैदलयात्री दुवैको लापर्बाहीले दुर्घटना भएको खुल्यो ।
माथि उल्लेख गरिएका विवरण कोशी प्रदेशमा दुर्घटनामा परेर पैदलयात्रीको मृत्यु भएको घटनासँग सम्बन्धित छन् । दुर्घटनामा पैदलयात्रीको मृत्यु हुने दर बर्सेनि बढ्दै छ । सडकमा हिँडिरहेका बेला सवारीसाधनसँग कुनै साइनो सम्बन्ध नभएका पैदलयात्रीले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको सरोकारवाला बताउँछन् ।
ट्राफिक प्रहरीको तथ्यांकले दुर्घटनामा परेर मृत्यु र घाइते हुने पैदलयात्रीको दर बर्सेनि बढ्दै गइरहेको देखाउँछ । सवारीसाधनको गति तीव्र हुने र त्यहाँमाथि पैदलयात्रीले लापर्बाही गरिदिने गर्दा यस्तो अवस्था आएको सडक सुरक्षासम्बन्धी जानकारहरु बताउँछन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उपलब्ध गराएको विवरण अनुसार कोशी प्रदेशमा दुर्घटनामा परेर आर्थिक वर्ष २०७८/०७९ मा १ सय १४ जना पैदलयात्रीको मृत्यु भएको थियो । ९ सय ११ जना घाइते भएका छन् ।
उक्त आर्थिक वर्षमा ३ हजार ८ सय २० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ५ सय ३० जनाको मृत्यु भएकोमा २१ दशमलव ५० प्रतिशत पैदलयात्री रहेका छन् । करिब १४ प्रतिशत घाइते भएका छन् ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ५ सय १० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ४ सय १२ जनाको मृत्यु भएकोमा ९२ जना पैदलयात्री छन् । ५ हजार ६ सय ७ जना घाइते भएकामा ९ सय ७ जना पैदलयात्री थिए । मृत्यु हुनेमध्ये २२ प्रतिशत र घाइतेमध्ये १६ प्रतिशत पैदलयात्री हुन् ।
कोशीमा गत आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ५ सय ६० वटा सवारी दुर्घटना भए । दुर्घटनामा ३ सय ९७ जनाको मृत्यु र ६ हजार ७६ जना घाइते भए । मृतक ९८ जना र घाइते ८ सय ६६ जना पैदलयात्री थिए । उक्त आर्थिक वर्षमा मृतकमध्ये २४ प्रतिशत र घाइतेमध्ये १४ प्रतिशत पैदलयात्री छन् ।
ट्राफिक प्रहरीको तथ्यांकले दुर्घटनामा परेर मृत्यु र घाइते हुने पैदलयात्रीको दर बर्सेनि बढ्दै गइरहेको देखाउँछ । सवारीसाधनको गति तीव्र हुने र त्यहाँमाथि पैदलयात्रीले लापर्बाही गरिदिने गर्दा यस्तो अवस्था आएको सडक सुरक्षासम्बन्धी जानकारहरु बताउँछन् । उनीहरुका अनुसार हाम्रो मुलुकमा पैदल यात्रीमैत्री सडक पूर्वाधार छैन ।
उचित शिक्षाको कमी, कमजोर सडक संरचना, बेवास्तापूर्ण हिसाबबाट सडकको प्रयोग, सवारी चालक तथा आफ्नै लापर्बाहीले गर्दा दुर्घटनामा पैदलयात्रीको मृत्यु धेरै हुन्छ ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले दुर्घटनामा पैदलयात्रीको मृत्यु हुनुमा सवारी चालक र पैदलयात्री दुवै जिम्मेवार रहेको बताए । ‘दुर्घटना न्यूनीकरण र जनचेतनाका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गरिरहेको हुन्छ । विद्यार्थी, पैदलयात्री, सवारी चालक तथा यातायात क्षेत्रका मजदुरलगायत आमसर्वसाधारणलाई लक्षित गरेर जनेचतनामूलक कार्यक्रम तीव्र पारिएको छ,’ उनी भन्छन्, ‘विद्यालय, समुदायदेखि सडकसम्म विभिन्न कार्यक्रमहरु गरिएको छ । सडकमा त्यत्तिकै संख्यामा ट्राफिक प्रहरी खटाइएको हुन्छ ।’
ट्राफिक सक्रियताका बाबजुद पनि लापर्बाहीका कारण दुर्घटना भएर अकालमा ज्यान गुमिरहेको एसपी पौडेलको भनाइ छ । उनका अनुसार उचित शिक्षाको कमी, कमजोर सडक संरचना, बेवास्तापूर्ण हिसाबबाट सडकको प्रयोग, सवारी चालक तथा आफ्नै लापर्बाहीले गर्दा दुर्घटनामा पैदलयात्रीको मृत्यु धेरै हुन्छ ।
‘फुटपाथका पसल र जथाभावी पार्किङले सडकमा हिँड्न पैदलयात्री बाध्य हुन्छन्,’ एसपी पौडेलले भने, ‘अनि सडकमा सवारीसाधनले ठक्कर दिएर मृत्यु हुन्छ ।’ सवारी चाप धेरै भएका ठाउँमा व्यवस्थित ट्राफिक लाइटको अभाव, सडकको असावधानीपूर्ण प्रयोग आदि पनि यसको मुख्य कारण रहेको उनको विश्लेषण छ ।
सडकमा पैदलयात्रीलाई सधैं प्राथमिकता हुन्छ । तर, सडक बनाउँदा पैदलयात्रीको सुविधालाई ध्यान दिएको पाइँदैन । यसमा राज्यको कमजोरी छ ।
‘बाटो काट्ने बेलामा पैदलयात्रीले विवेक पुर्याउँदैनन् । जथाभावी सडक पार गर्छन्,’ पूर्वशिक्षक केशव अधिकारी भन्छन्, ‘सवारीसाधन तीव्र गतिमा हुन्छन् । तत्काल नियन्त्रण सम्भव नहुँदा ठक्करबाट पैदलयात्रीले अकालमा ज्यान गुमाउँछन् ।’ सबै कुरा मान्छेकै लागि बनेको बताउँदै अधिकारी भन्छन्, ‘तर, प्रयोग गर्न जानेन भने त्यसले क्षति पुर्याउँछ ।’
सडकमा पैदलयात्रीलाई सधैं प्राथमिकता हुन्छ । तर, सडक बनाउँदा पैदलयात्रीको सुविधालाई ध्यान दिएको पाइँदैन । यसमा राज्यको कमजोरी रहेको पूर्वशिक्षक अधिकारीले बताए ।
‘पैदल यात्रा गर्नेदेखि सबै नागरिकलाई ट्राफिक सचेतना एवं जनचेतनाको खाँचो छ । कतिपयले बुझेर पनि नियमको पालना गर्दैनन्,’ उनले भने, ‘सधैंको हतारोले अकालमा ज्यान गइरहेको हुन्छ । एकछिन पर्खिएर र उचित स्थानबाट बाटो काट्नुपर्छ भन्ने हेक्का हुँदाहुँदै पनि लापर्बाही गरिदिन्छन् ।’
सवारीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको बताउँदै अधिकारीले उचित सडक संरचना कतै नभएको उल्लेख गरे । भने, ‘राज्यले सडक स्तरोन्नतिमा ध्यान दिँदैन । पैदलयात्रीलाई हिँड्न फुटपाथको अभाव छ । जेब्र क्रसिङ हुँदैन । फुटपाथ र जेब्रा क्रसिङ भएका ठाउँमा पनि सडकबाटै पैदलयात्री हिँडिदिन्छन् ।’
नेपालका प्रायजसो सडकहरुमा संकेत राखेको पाइँदैन । राज्य नागरिकप्रति उत्तरदायी भएन ।
उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव विनोदकुमार तिमल्सिना नागरिकलाई सडक क्रस गर्ने सम्बन्धी जनचेतना दिनुपर्ने दायित्व राज्यको हुने बताउँछन् । ‘सडकमा ट्राफिक चिन्ह एवं संकेतहरु प्रत्येक ठाउँमा राख्नुपर्छ भनेर सडक ऐन, यातायात व्यवस्था ऐन तथा नियमावलीमा प्रष्टसँग व्यवस्था गरिएको छ । ट्राफिक नियमका बारेमा नागरिकलाई राज्यले सचेत गराउनुपर्ने कुरा कानुनको प्राथमिकता पर्छ,’ उनले भने, ‘तर नेपालका प्रायजसो सडकहरुमा त्यसबमोजिमको संकेतहरु राखेको पाइँदैन । राज्य नागरिकप्रति उत्तरदायी भएन ।’
कहाँबाट बाटो काट्ने, सडकपेटीको प्रयोग कसरी गर्ने, कस्तो अवस्थामा ओभरटेक गर्ने, घुमाउरो बाटोमा कस्तो सावधानी अपनाउने, कुन ठाउँमा कति गतिमा र कुन लेनमा सवारी चलाउने, पार्किङ कहाँ गर्नेलगायतसँग सम्बन्धित चिन्हहरु राखेर नागरिकलाई सचेत गराउनुपर्नेमा राज्य आफ्नो दायित्वबाट विमुख भएको अधिवक्ता तिमल्सिना बताउँछन् । नागरिकलाई सडक प्रयोगका विषयमा राज्यले आधारभूत जानकारीसमेत नदिएका कारण सडकमा पैदलयात्रीले ज्यान गुमाइरहेको उनको भनाइ छ ।
दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढिरहँदा सरकारी स्तरबाट कमीकमजोरी खोज्ने प्रयास हुँदैन । यो अर्को दुःखद् पक्ष हो । सरकारले सडक र सवारीमा जति लगानी गरेपनि पैदलयात्रीको सुरक्षालाई बेवास्ता गरिरहेको देखिन्छ ।
सडकमा जे गरे पनि हुन्छ भन्ने मानसिकता नागरिकमा हाबी हुनुसमेत दुर्घटनाको कारण रहेको उनले बताए । ‘सडकमा अन्नहरु सुकाउने, चौपाया छाडिदिने, संकेत अनुसार सडक प्रयोग नगर्ने, जथाभावी बाटो काट्नेजस्ता कारणहरुले दुर्घटना निम्त्याएको छ । मानवीय क्षति बढेको छ । यसमा राज्य बढी जिम्मेवार हुनुपर्छ,’ तिमल्सिनाले भने ।
‘दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढिरहँदा सरकारी स्तरबाट कमीकमजोरी खोज्ने प्रयास हुँदैन । यो अर्को दुःखद् पक्ष हो । सरकारले सडक र सवारीमा जति लगानी गरेपनि पैदलयात्रीको सुरक्षालाई बेवास्ता गरिरहेको देखिन्छ,’ उनले भने । अधिवक्ता तिमल्सिना कतिपय ठाउँमा फुटपाथ व्यापार र पार्किङका कारण पैदलयात्रीले आफ्ना लागि बनेका संरचना प्रयोग गर्नै नपाउने गरेको बताउँछन् ।
लाइसेन्स दिने बेलामा चालकलाई सडकमा परीक्षण गराइँदैन । नियम पालनका बारेमा सिकाइँदैन । लाइटको प्रयोग, जेब्रा क्रसिङलगायतका आधारभूत ज्ञान दिइँदैन । यो ठूलो खराबी हो । लाइसेन्स दिनासाथ दुर्घटनाको प्रारम्भिक बिन्दु सुरु हुन्छ । लाइसेन्स वितरण प्रणालीलाई परिवर्तन गर्नुपर्छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी पोषराज पोखरेल जथाभावी बाटो काट्ने, सडकमा लापर्बाहीपूर्ण हिँडडुल गर्ने, गुडिरहेका सवारीसाधनतर्फ ध्यान नदिने, हतार गर्ने गर्दा दुर्घटनामा पैदलयात्रीको मृत्यु धेरै हुने गरेको बताउँछन् । सवारी चालकले नियम नमान्ने, जेब्रा क्रसमा ध्यान नपुर्याउने, गति कायम नगर्ने, बजार क्षेत्रमा तीव्र गतिमा कुदाउने, सावधानी अपनाउनेतर्फ बेवास्ता गर्ने आदि कारणले दुर्घटना बढी हुने उनको भनाइ छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट भर्खरै अवकाश पाएका पोखरेलका अनुसार नेपालमा लाइसेन्स (सवारी चालक अनुमति पत्र) उपलब्ध गराउने प्रणाली नै गलत छ । ‘लाइसेन्स दिने बेलामा चालकलाई सडकमा परीक्षण गराइँदैन । नियम पालनका बारेमा सिकाइँदैन । लाइटको प्रयोग, जेब्रा क्रसिङलगायतका आधारभूत ज्ञान दिइँदैन । यो ठूलो खराबी हो । लाइसेन्स दिनासाथ दुर्घटनाको प्रारम्भिक बिन्दु सुरु हुन्छ । लाइसेन्स वितरण प्रणालीलाई परिवर्तन गर्नुपर्छ,’ पूर्वडीआईजी पोखरेलले भने ।
सवारीसाधनको गति कम गर्नेदेखि दुर्घटना न्यूनीकरणलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ । सडक विभागले सूचनामूलक बोर्डहरु राखेको छ । ट्राफिक सक्रियता बढाइएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ सडक र सवारीसाधनको संख्या धेरै हुँदै जानुले पनि दुर्घटना बढ्नु स्वभाविक भएको बताउँछन् । ‘सहरदेखि गाउँगाउँसम्म सडक विस्तार भयो । सवारीसाधनको संख्या बढ्यो । सडक स्तरोन्नति भएपछि गाडीको ‘स्पिड’ पनि बढ्छ,’ उनले भने, ‘सडकमा पैदलयात्रीले ध्यान दिँदैनन् । सवारी चालकले नियमको उल्लंघन गर्छन् । सवारीसाधनको प्रयोग अत्यधिक हुन थालेपछि दुर्घटनाको ग्राफ बढेको हो ।’
खापुङका अनुसार सवारीसाधनको गति कम गर्नेदेखि दुर्घटना न्यूनीकरणलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ । ‘सडक विभागले सूचनामूलक बोर्डहरु राखेको छ । ट्राफिक सक्रियता बढाइएको छ । स्कुलदेखि नै सवारी नियमको जानकारी गराइन्छ,’ डीआईजी खापुङले भने, ‘तर, आफूले मात्रै हैन, अरुले पनि दुर्घटना गराउन सक्छन् भनेर सडक प्रयोगकर्ताले बुझ्नुपर्छ । सबै सचेत हुँदा मात्रै दुर्घटनाबाट बचिन्छ ।’
उनले अहिले ‘डिफेन्सिभ ड्राइभ’मा ध्यान दिन चालकलाई आग्रह गर्ने गरिएको बताए । ‘दुर्घटना न्यूनीकरणको मुख्य औषधि भनेकै जनचेतना हो,’ डीआईजी खापुङ भन्छन्, ‘यसलाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको छ ।’