विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले बनायो विशेष समिति

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १८:४९
विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले बनायो विशेष समिति

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले भोटेकोशी तथा कालीगण्डकी कोरिडोरमा भएका विपद्को जोखिम, क्षति र पुनः स्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए ।

समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन् । समितिमा एक सदस्य पछि थप गरिनेछ ।

समितिले विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनः स्थापनाको समीक्षा गर्नेछ ।

त्यस्तै, जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै प्रभावितको पुनः स्थापना, भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण तथा जलवायु न्यायका लागि मार्गचित्र सिफारिस गर्ने समितिको कार्यक्षेत्र तोकिएको छ ।

समितिले विपद् आउनुअघि जोखिमको सूचना उपलब्ध गराउने वैज्ञानिक तथा आधुनिक पूर्वसूचना प्रणाली र प्रविधिको विकास तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्रबारे सुझाव दिनेछ । विषयगत विज्ञसँग अन्तरक्रिया गरी विपद्को कारण, जोखिम तथा दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषणसमेत गरिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×