रगतका लागि सुरक्षाकर्मीकै भर : प्रहरी दिवसमा रक्तदान, ६८ पिन्ट संकलन

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार १८:२८

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी दिवसको अवसरमा मंगलबार विराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल प्रहरीले आफ्नो ६९ औं दिवस मनाउँदै छ । दिवसका अवसरमा प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको अध्यक्षतामा विराटनगर महानगरपालिका–९ मा रक्तदान कार्यक्रम गरिएको हो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक, एसएसपी अविनारायण काफ्ले र प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाललाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । काफ्ले र दाहाल पनि रक्तदाता हुन् ।

प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक कार्यहरु पनि गर्दै आएको मन्त्री अधिकारीले बताए । ‘रक्तदान, जीवनदान’ भएकाले मानवीय सेवामा समर्पित हुन सबैमा उनले आह्वान गरेका छन् । मन्त्री अधिकारीले रक्तदातालाई प्रशंसापत्र समेत प्रदान गरे ।

नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा नेपाल प्रहरी र सर्वसाधारणले रगत दिएका थिए । ६८ पिन्ट रगत संकलन भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए ।

संकलित रगत रक्तसंचार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायत उपस्थित थिए ।

कोशीमा सधैं अभाव
कोशी प्रदेशमा सधैं रगतको अभाव हुने गरेको छ । अस्पतालहरुमा उपचाररत सिकिस्त बिरामीले समेत आवश्यकता पर्दा रगत पाउँदैनन् । रक्तसंचार सेवा केन्द्रमा समेत मौज्दात सकिँदा झन् समस्या हुने गरेको छ ।

प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसंचार सेवा अधिकृत शिवानन्द यादव रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरु मर्कामा पर्ने गरेको बताउँछन् । माग अनुसारको आपूर्ति गर्न नसक्दा रगतकै कारण बिरामीले सहज उपचार नपाउने उनको भनाइ छ ।

‘रगतको संकट टार्नलाई रक्तदानको नियमित व्यवस्थासमेत छैन । रक्तदान नियमित नहुँदा रगत संकलनमा कमी हुन्छ । बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था आउँछ,’ यादव भन्छन् । प्रदेशमा दैनिक करिब २ सय पिन्ट रगतको माग हुने उनले बताए ।

कोशी प्रदेशमा १० वटा ‘ब्लड बैंक’ छन् । बेलाबखत नियमित रगत चाहिने बिरामीले समेत नपाउने गरेको भन्दै यादवले आपूर्ति सहज बनाउने उपायको खोजी भइरहेको बताए । उनका अनुसार विभिन्न ३ सयजति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएरै रक्तदान गर्छन् ।

सार्वजनिक हिसाबले नियमित रक्तदान नहुने हुँदा प्राय रगतको अभाव भइरहने उनले बताए । ‘केही दिनयता नियमित भइरहेको छ । तत्काललाई अभाव टरेको छ,’ यादव भन्छन्, ‘तर, चाडपर्वमा अभाव हुनसक्ने देखिन्छ । रगत आपूर्ति कसरी गर्न सकिन्छ भनेर उपायको खोजी गर्दैछौं ।’ निकालेको ३५ दिनसम्म रगत प्रयोग गर्न सकिने उनले बताए ।

सुरक्षाकर्मीको भर
रगतको अभाव भएका बेला बिरामीले सधैं सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था आउँछ । कतै नपाएर आपत परेका बेला संकट सुरक्षाकर्मीले टार्दै आएका छन् । रगतको अपेक्षा गरेर बिरामीका आफन्तहरु नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलगायतका निकायको सम्पर्कमा पुग्छन् । अभावका बेला सुरक्षाकर्मीले रगत दिएर बिरामीको ज्यान बचाइरहेका छन् ।

‘रगत चाहियो भनेर धेरै फोन आउँछ,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की भन्छन्, ‘मिल्दोजुल्दो समूहको रगत भएका प्रहरीको खोजी गर्दै तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाउँछौं ।’ सुरक्षा निकायले बेलाबखत रक्तदान कार्यक्रम गर्ने गरेको उनले बताए । एकै ठाउँमा ठूलो संख्या र समूहमा बस्ने भएकाले विभिन्न समूहका रगत तत्काल पाउन सकिने हुँदा सुरक्षाकर्मीसँग सर्वसाधारणले अपेक्षा गर्ने एसपी कार्कीले बताए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जीवन रक्षाका लागि आवश्यक रगतको संकट सुरक्षाकर्मीबाटै टर्ने बताए । खापुङका अनुसार सुरक्षा संगठनभित्र आवश्यक परेको समूहसँग मेल खाने रगत भएका कोही न कोही भेटिने भएकाले सर्वसाधारणले सम्झिने गरेका छन् ।

रगतको अभाव हुँदा सुरक्षाकर्मीबाटै भरथेग हुन्छभन्ने अपेक्षा सर्वसाधारणले गर्नु स्वभाविक भएको डीआईजी खापुङको भनाइ छ । ‘रगत अभाव भएका बेला सहजीकरण गर्ने गरिएको छ । मानिसको जीवन बचाउने कुरा ठूलो हो । बिरामीको ज्यान बचाउन मानवीय सेवाका हिसाबले सुरक्षाकर्मीले रगत दिन्छन्,’ उनले भने ।

खापुङ सधैंजसो खड्किने रगतको अभाव टार्न संस्थागत रक्तदानतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउँछन् । सबैलाई रक्तदानका लागि प्रेरित गर्दै व्यक्ति र संघ संस्थाले सक्रियता बढाउनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.