पाथीभराको नाममा मोरङमा रकम संकलन, तत्काल रोक्न प्रशासनलाई पत्राचार

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार १९:४९

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको तस्बिर राख्दै मोरङमा आर्थिक सहयोग संकलन गर्ने काम भइरहेको पाइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले उक्त कार्य रोक्न माग गर्दै मोरङ प्रशासनलाई पत्राचार गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको शिवबाबा भक्त समाज नेपाल नामक संस्थाले ‘ताप्लेजुङ पाथीभरा माताको मन्दिर निर्माणार्थ’ भनेर आर्थिक सहयोग संकलन गरिरहेको पाइएको समितिका अध्यक्ष रक्की थेबे (लिम्बू)ले जानकारी दिए ।

उनका अनुसार उक्त कार्य रोक्न मोरङ प्रशासनलाई पत्राचार गरिएको छ । ‘ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिर नेपालको १ प्रसिद्ध धार्मिक स्थल हो । जसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व छ । हामीलाई जानकारी आए अनुसार, हाल मोरङ जिल्लामा शिवबाबा भक्त समाज नेपाल नामक संस्था, सुन्दरहरैँचा न. पा. ५ मोरङले ताप्लेजुङ पाथीभरा माताको मन्दिर निर्माणार्थ भनेर आर्थिक सहयोग संकलन गरिरहेको खबर प्राप्त हुन आएको छ,’ पत्रमा भनिएको छ, ‘यस कार्यमा पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङसँग कुनै औपचारिक समन्वय भएको छैन ।’

ताप्लेजुङमा मन्दिर निर्माण गर्ने कार्य पनि नभएको जानकारी गराउँदै यस्तो कार्यले धार्मिक भावनामा आघात पुर्याउने र जनमानसमा भ्रम फैलाउने तथा आर्थिक अनियमितताको खतरा उत्पन्न हुन सक्नेतर्फ समितिले सचेत गराएको छ । समितिले पाथीभराको नाम लिएर भइरहेको अवैध सहयोग संकलन कार्यको तत्काल छानबिन गरी आवश्यक निगरानी तथा कारबाही गर्नुपर्ने माग पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.