
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकलाई दसैंमा घर जाने सहज वातावरण बनाउन माग गरेको छ ।
बाढी पहिरोमा फसेर नागरिक समस्यामा परेको भन्दै कांग्रेसले घर जान सक्ने वातावरण मिलाउन प्रदेश सरकारसँग माग गरेको हो । कांग्रेस कोशी प्रदेशले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्रदेशका नागरिकलाई सहजै दसैं मनाउन पाउने वातावरणका लागि विशेष पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
बाढी र पहिरोका कारण अवरुद्ध भएका सडकहरु यथाशीघ्र संचालनमा ल्याउन पनि कांग्रेसले माग गरेको छ । केही दिनअगाडि भएको अविरल वर्षाका कारण देशैभरि ठूलो जनधनको क्षति भएको छ ।
कांग्रेसले देशको विषम परिस्थितिमा अकालमा मृत्युवरण गरेका नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको काम गरेको छ । मृतकका परिवारलाई विशेष राहत, पीडित परिवारलाई आवश्यक राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन कांग्रेसले अनुरोध गरेको छ ।
साथै, राहत र उद्धारमा जुटन पनि आग्रह गरेको छ । ‘भर्खरै बनेको संयुक्त सरकारको सहकार्यलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो,’ कांग्रेसले भनेको छ, ‘तसर्थ, गठबन्धन गर्दा गरिएका सहमतिहरुलाई परिपालना गर्दै अघि बढ्न सरकारमा सहभागी सबै दल र पार्टीका साथीहरुलाई अनुरोध गर्दछौं ।’
कांग्रेसले मुलुकमा बढ्दै गएको कालाबजारी, महँगी र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । कालाबजारी, महँगी र भ्रष्टाचारप्रति सचेत हुन नागरिकलाई पनि कांग्रेसले अनुरोध गरेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस कोशी प्रदेश कार्यसमितिले पूर्णता पाएको र हालसम्म २२ वटा विभाग गठन भइ कार्यक्रम एवं गतिविधि निरन्तर भइरहेको जानकारी गराइयो । आवश्यक तयारी गरेर पार्टीको प्रदेश सम्मेलन चाँडै गरिने कांग्रेसले जनाएको छ ।
कांग्रेसले विजयादशमी, शुभदिपावली छठलगायतका पर्वहरुको उपलक्ष्यमा सबैलाई शुभकामनासमेत दिएको छ । देशमा राजनैतिक स्थायित्वको कामना पनि गरेको छ । पत्रकार सम्मेलनमा कांग्रेस कोशीका प्रवक्ता यदु विष्ट, नेता राजेश गुप्तालगायत उपस्थित थिए ।

























