क्रसर परिसरमा २ नाबालकको मृत्यु : दाजुको शव पनि निकालियो

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १७, बिहीबार २२:४५

विराटनगर । मोरङमा क्रसर परिसरको खाल्डोबाट नाबालक दाजुभाइको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको छ ।

खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा केराबारी गाउँपालिका–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईंको शव फेला परेको थियो । सुरुमा भाइ मृत फेला परेपछि खोजी गर्दा दाइको पनि शव भेटियो ।

केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा भएको घटनाको जानकारी प्रहरीले बिहीबार दिउँसो ३ः४० बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले रामचरणको शव खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि पठायो । पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

दाजु भूपेन बेपत्ता थिए । खोजी गर्ने क्रममा साँझ त्यही खाल्डोमा शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । तर, आफन्त र स्थानीयले निकाल्न दिएनन् । क्रसरको चरम लापर्बाहीले घटना भएको आरोप उनीहरुको थियो । छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही गर्नुपर्ने, क्रसर सार्नुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखे ।

यस विषयमा शुक्रबार छलफल हुने सर्वपक्षीय सहमति जुटेपछि आफन्तहरु शव निकाल्न दिन राजी भएको स्थानीय लीलानाथ घिमिरेले बताए । सहमतिपछि भूपेनको शव लगभग राति ९ बजेतिर निकालिएको घिमिरेले बताए ।

दाइभाइकै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । डीएसपी जोशीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरुको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान छ । यद्यपि, घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी जोशीले दिए ।

स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो । त्यस क्रममा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले नपुरेर त्यत्तिकै छाडेका कारण घटना भएको स्थानीय बताउँछन् ।

घिमिरेका अनुसार खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ । खाल्डोमा दाजुभाइ मृत भेटिएपछि स्थानीय आक्रोसित बनेको उनको भनाइ छ ।

डीएसपी जोशीका अनुसार नाबालकका बुवा तोयानाथ त्यही क्रसरकै कामदार हुन् । क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीय बताउँछन् ।

घिमिरेका अनुसार क्रसरले ठुल्ठूला भौडी (खाल्डा) बनाएको छ । ‘क्रसरले उत्खनन् गरेपछि भौडी पुर्नुपर्ने थियो । अजंगका भौडी बनाएर त्यत्तिकै छाडेको छ । यो चरम लापर्बाही हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.