मोरङमा दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन २१, सोमबार ०६:३६

विराटनगर । मोरङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा आइतबार साँझ नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक साँझ ६ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको जोशीले बताए । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरी जवान राई मोटरसाइकल चालक हुन् ।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिन्छ । यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी जोशीले बताए ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् ।

clockप्रकाशित मिति:  २०८१ आश्विन २१, सोमबार ०६:३६
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.